काठमाण्डु – देशको मुहार फेर्न भन्दै कुनै बेला सँगसँगै सशस्त्र विद्रोह गरेका हाल छुट्टाछुट्टै पार्टी र मोर्चामा देखिन्छन् । जसमध्ये नेकपा माओवादीको नेतृत्वमा सत्ता सुखमा लागेपछि नेता नेत्रविक्रम चन्द ‘विप्लव’ विद्रोह गरी संघर्षतिर लागे ।
सँगसँगै युद्ध लडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला तेस्रोपटक प्रधानमन्त्री बनेका छन् भने विप्लव विद्रोहकै वरिपरि घुमिरहेका छन् । उनी सत्ता सुखबाट टाढा छन् ।
सँगसँगै युद्ध लडेका नेता टोपबहादुर रायमाझी सत्ता सुख भोग्ने क्रममै नेकपा एमालेमा रहेर हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर प्रहरी हिरासतमा पुगेका छन् । यस्तै बेला विद्रोही विप्लवले पूर्व सहयोद्धा कमरेडहरूमाथि खिसीटिउरी गरेका छन् ।
हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव रहेका विप्लवले संसदीय व्यवस्थाका कारण भ्रष्टाचार र भ्रष्टाचारीहरू बढ्दै गएको दाबी गरेका छन् । ५९औं विद्यार्थी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले संसदीय व्यवस्थामा असल मानिसपनि सिङ पुच्छर उमारेर निस्किने भन्दै व्यंग्य गरे ।
‘जनयुद्ध र १९ दिने जनआन्दोलनमा जीवनको दाउ थापेर लड्नेहरू के हो यो ? किन उनीहरू नेपाली जनताका अगाडि टिक्न सक्दैनन् ? यो भनेको दलाल पुँजीवादी सत्ताको समस्या हो,’ उनले भने ।
उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका नेताहरू नै भ्रष्टाचारमा मुछिएकोप्रति उनले कडा व्यंग्य गरे । उनले भने, ‘हिजोसम्म गृहमन्त्री र उपप्रधानमन्त्री भएर देशको नेतृत्व गरेका मान्छेहरू आज करौडौंको खेलमा भ्रष्टाचारमा जाकिएका छन् । उनीहरू आज जेलको चिसो छिँडीमा रुँदै बस्नुपरेको छ ।’
सामन्तवाद परास्त भएपनि अब साम्राज्यवादविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘अहिले सामन्तवाद परास्त भएको छ तर साम्राज्यवादीहरूको हस्तक्षेप छ । हामीलाई उनीहरू मान्छे होइन, दास बनाउन चाहन्छन् । यो लडाइँमा युवा–विद्यार्थीले कुन बाटो लिने कता जाने ? यो ९० लाख विद्यार्थीको भविष्यको कुरा छ,’ उनले भने ।
महासचिव विप्लवले संसदीय राजनीतिबाट परिवर्तन सम्भव नहुने र भ्रष्टाचारको मतियार बन्नुपर्ने भन्दै फरक बाटो रोजेका छन् । फरक बाटोमा हिँडेका विप्लवले नतिजा देखाउन नसके पनि भ्रष्टाचारका काण्डमा फस्नबाट जोगिएका छन् ।




प्रतिक्रिया