पोखराबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने

पोखराबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न शहरमा चार्टर्ड उडान सुरु हुने बताए ।

नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिएका हुन् । ‘जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ’, उनले भने ।

२०७९ पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन । यो विमानस्थल भएर आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रियतर्फ अहिलेसम्म कुनै पनि उडान भएका छैनन् ।

विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

पर्यटनमन्त्री किरातीले पोखराबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान गर्ने बताए पनि कुन–कुन एयरलाइन्सका जहाजबाट उडान हुने भन्ने खुलाएनन् ।

जेठ २९ देखि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान

पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने पनि जानकारी दिए । उनका अनुसार काठमाडौं–क्लालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान हुने छन् । उक्त प्रयोजनका लागि टिकट बुकिङ खुलिसकेको निगमले जनाएको छ ।

पर्यटनमन्त्री किरातीले सञ्चालनमा नरहेका १८ विमानस्थलको व्यावसायिक सम्भावना हेरेर यथाशीघ्र सञ्चालन गरिने जानकारी गराए । नेपाल वायुसेवा निगमलाई व्यावसायिक रूपमा प्रतिस्पर्धी बनाउने उद्देश्यले आन्तरिक उडानमा बजार विस्तारका लागि थप जहाज खरिद गर्न लागेको र ‘हब’ विमानस्थलमा उडान भर्नेगरी तीन थान जहाज खरिद प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

पर्यटनमन्त्री किरातीले भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति नागरिक तवरबाट खबरदारी हुन जरुरी भएको उल्लेख गरे । नेपालको पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकामा जोड दिँदै उनले सरकार र निजी क्षेत्रको साझेदारीलाई बढाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले समय सापेक्षा पर्यटन क्षेत्रलाई अघि बढाउन नीतिगत सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।-रासस