तीन शताब्दी पुरानो पोखरीको संरक्षणमा जुटे तनहुँका रुम्सीवासी

तीन शताब्दी पुरानो पोखरीको संरक्षणमा जुटे तनहुँका रुम्सीवासी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली – तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका स्थानीयवासीले करीब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् ।

वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान शुरु गरिएको हो ।

पुराना पोखरी संरक्षणको लागि रुम्सीवासीलाई हरियो वन कार्यक्रमअन्तर्गत गैरसरकारी संस्था समन्वय समिति तनहँुले केही आर्थिक सहयोग गरेको छ । गैसस समन्वय समितिले रुम्सीको चार पुराना पोखरीको सरसफाइ कार्यक्रमका लागि ४० हजार बजेट उपलब्ध गराएको छ ।

उक्त रकमबाट पुराना पोखरीको सफाइ साथै एउटा नयाँ पोखरी पनि निर्माण गर्ने रुम्सी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं व्यास नगरपालिकाका कार्यपालिका सदस्य नरीमाया रानाले बताए ।

रुम्सीकै शिवशक्ति आमा समूहले पुराना पोखरीको संरक्षणको पहल गरेको समयमा गैसस समन्वय समितिले नै हरियो वन कार्यक्रमअन्तर्गत पुराना पानी पोखरी संरक्षण कार्यक्रम आफ्नो गाउँमा ल्याएपछि आफूहरूलाई निकै सजिलो भएको उनले जानकारी दिए ।

वर्षाको समयमा पर्ने आकाशे पानीले उक्त पोखरी भरिने र हिउँदको समयभरि वन्यजन्तु र घरपालुवा चौपायालाई पानी उपभोग गर्न पुग्ने सामुदायिक वनका सचिव ज्ञानबहादुर थापाले बताए ।

गैसस समन्वय समिति तनहँुका अध्यक्ष प्रतापसिंह गुरुङले हरियो वन कार्यक्रमअन्तर्गत सेती नदी जलाधार क्षेत्रमा पोखरीको सानो भूपरिधि क्षेत्र निर्माण गर्ने उद्देश्यले पुराना पोखरी सफाइ र नयाँ पोखरीको निर्माण गरिएको बताए ।