रेशम चौधरीलाई आममाफी दिने गृहको प्रस्तावलाई राष्ट्रपति कार्यालयले गर्‍याे फिर्ता


काठमाण्डु – राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ ।

बुधबार गृह मन्त्रालयले चौधरीलाई आम माफीका लागि प्रस्ताव गरेको थियो। तर,शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो ।

सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति कार्यालयले गृहबाट प्राप्त निवेदनको फाइल अध्ययनपछि रायसहित फिर्ता पठाइएको जानकारी दिए ।

राष्ट्रपति कार्यालयले कानुनबमोजिम गर्नू भन्ने राय दिएको छ । ‘चौधरीलाई आममाफीका विषयमा प्रचलित कानुन, सो मुद्दासम्बन्धी सर्वोच्च अदालतको फैसला, अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम गर्नू भनेर राष्ट्रपति कार्यालयले फाइल फिर्ता पठाएको छ ।

चौधरीलाई लगाएको मुद्दा फिर्ता गर्ने विषयमा पटक-पटक सहमति गरेका सत्ता गठबन्धन दलले पछिल्लो पटक सर्वाेच्च अदालतले समेत जिल्ला र उच्च अदालतको फैसलालाई सदर गरेपछि सजाय माफीको प्रक्रिया अघि बढाउन सहमत भएका छन् । २०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement