चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष चाओ र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच बेइजिङमा भेटवार्ता

चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष चाओ र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच बेइजिङमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी)का स्थायी समिति अध्यक्ष चाओ लचीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लचीबीच सोमबार साँझ ग्रेट हल अफ पिपुल्स बेइजिङमा भेटवार्ता भएको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण एबम अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी बर्षहरुमा नेपाल र चीन बीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताएका छन्।

अध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एवं विकासको साझेदार र असल छिमेकीको रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधै उच्च महत्व र प्राथमिकता दिदैं आएको बताउँदै नेपाल सधै एक चीन नीतिको पक्षमा रहेकाे बताएका छन् ।

चीन नेपालका पर्यटक स्रोत मुलुकहरुमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै ‘आउट ब्याण्ड टुरिष्ट ग्रुप’ मा राखेकोमा खुसी पनि ब्यक्त गरेका छन् । चीनिया ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घघाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्याउनेमा बिश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले चीनका बिभिन्न सहरबाट सोझो उडान हुने बिश्वास ब्यक्त गरे ।

नेपाल चीनबीच केरुङ-रसुवागढी, हिल्सा-पुराङ र तातोपानी-झाङमु नाकाहरु मार्फत दुईतर्फी व्यापार सुचारु भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरु सञ्चालन हुने बिश्वास पनि ब्यक्त गरेका छन्।

उक्त भेटमा चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लचीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका बिषयलाई चीनले गम्भीरतापुर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिएका छन । उनले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अबस्थामा रहेको जनाएका छन् ।

एनपीसीका अध्यक्ष चाओका अनुसार चीन र नेपालको व्यवस्थापिकाले सधैं राम्रो आदानप्रदान गरेका छन्। चिनियाँ राष्ट्रिय जनकंग्रेसले चीन-नेपाल मैत्री सहयोगको सामाजिक र जनमतको आधारलाई सुदृढ गर्न, द्विपक्षीय सम्बन्धको विकासका लागि आदानप्रदानलाई सुदृढ पार्न इच्छुक रहेकाे उनले बताए।

अध्यक्ष तिमिल्सिना ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधी मण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहेका छन । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।