एनभिडियाको सीईओमा जेन्सन हुआङ ११ दिनमै फिर्ता, कम्पनीको सेयर ३१ प्रतिशत उकालो

एनभिडियाको सीईओमा जेन्सन हुआङ ११ दिनमै फिर्ता, कम्पनीको सेयर ३१ प्रतिशत उकालो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यालिफोर्निया – अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ ११ दिनपछि पुन: कम्पनीको नेतृत्वमा फर्किएका छन् ।

चिनियाँ महिलासँगको सम्बन्ध र चीनलाई उन्नत प्रविधिका चिप आपूर्ति गरेको विषयसँग जोडिएका आरोपबीच हुआङले १२ नोभेम्बरमा पद छाडेको समाचारमा उल्लेख थियो ।  

तर अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूसँग छलफल गरेपछि कम्पनीको सञ्चालक समितिले उनलाई पुन: सीईओ बनाउने निर्णय गरेको हो । हुआङको पुनरागमनको घोषणा भएपछि एनभिडियाको सेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले बढेको छ ।

कम्पनीको सञ्चालक समितिले हुआङ पुन: नेतृत्वमा फर्किँदा अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा नहुने निष्कर्ष निकालेको जनाएको छ । यद्यपि विदेशी गुप्तचर निकायसँग जोडिएको भनिएको विषयमा उनीमाथि भइरहेको अनुसन्धान भने जारी रहनेछ ।

हुआङले के भने ?

पुन: सीईओको जिम्मेवारी सम्हाल्न पाउँदा सम्मानित महसुस भएको हुआङले बताएका छन् । उनले आफूलाई विश्वास गरेकोमा कम्पनीको सञ्चालक समितिलाई धन्यवाद दिएका छन् ।

उनले बोर्डका अध्यक्ष हार्वे जोन्स, कोलेट क्रेस र कम्पनीको वरिष्ठ व्यवस्थापन टोलीले कठिन समयमा कम्पनीलाई सम्हालेको भन्दै प्रशंसा गरेका छन् । कर्मचारी, सेयरधनी, प्रविधि क्षेत्रका सहकर्मी तथा विश्वभरका साझेदारलाई पनि उनले धन्यवाद दिएका छन् ।

आफ्नो परिवारको सहयोगप्रति आभार व्यक्त गर्दै हुआंगले सकेसम्म चाँडो काममा फर्किन आफू उत्साहित रहेको बताएका छन् ।

यी ३ आधारमा पुनर्नियुक्ति

हुआङलाई पुन: सीईओ बनाउने निर्णयका पछाडि ३ मुख्य आधार रहेको समाचारमा उल्लेख छ ।

पहिलो, अमेरिकी सरकारका वरिष्ठ अधिकारीबाट प्राप्त सुझाव र जानकारीका आधारमा बोर्डले उनको पुनरागमनले राष्ट्रिय सुरक्षामा खतरा नपार्ने निष्कर्ष निकालेको हो ।

दोस्रो, बोर्डले हुआङसँग विभिन्न चरणमा छलफल र बैठक गरेपछि उनको जवाफ तथा कम्पनीको नेतृत्व गर्ने क्षमताप्रति विश्वास कायम गरेको जनाएको छ ।

तेस्रो, कम्पनी र लगानीकर्ताको हितलाई ध्यानमा राखेर बोर्डले हुआंगलाई नै नेतृत्वका लागि उपयुक्त व्यक्ति ठहर गरेको हो । बोर्ड अध्यक्ष हार्वे सी. जोन्सले उनको पुनरागमन सेयरधनी, कर्मचारी, साझेदार र ग्राहक सबैको हितमा हुने बताएका छन् ।

हुआङको विकल्प खोज्न किन कठिन ?

एनभिडियामा हुआङको प्रभाव र स्वामित्वका कारण उनको विकल्प खोज्न कठिन रहेको समाचारमा उल्लेख छ ।

हुआङसँग कम्पनीको ३.५६ प्रतिशत सेयर छ । उनी कम्पनीका सबैभन्दा ठूला व्यक्तिगत सेयरधनी हुन् । कम्पनीका दैनिक कामदेखि ठूला व्यावसायिक निर्णयसम्म उनको प्रत्यक्ष भूमिका रहँदै आएको छ । ६० भन्दा बढी अधिकारीले उनलाई प्रत्यक्ष रिपोर्ट गर्ने गरेको समाचारमा उल्लेख छ ।

त्यस्तै सञ्चालक समितिका धेरै सदस्य एनभिडियाका प्रारम्भिक लगानीकर्ता वा व्यावसायिक साझेदारसँग जोडिएका छन् । कम्पनीका पूर्वकर्मचारीहरूको भनाइ उद्धृत गर्दै समाचारमा एनभिडियाका महत्त्वपूर्ण निर्णयमा हुआङकै निर्णायक भूमिका रहने उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकटतालाई पनि अर्को महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ । चीनलाई चिप बिक्रीमा लगाइएका प्रतिबन्ध हटाउन हुआंगले ट्रम्पसँग पहल गरेको र अमेरिकी कृत्रिम बौद्धिकता (एआई) तथा चिप नीतिमा उनको प्रभाव रहेको समाचारमा उल्लेख छ ।

 ट्रम्पले गरे स्वागत

अमेरिकी राष्ट्रपति ट्रम्पले हुआङको पुनरागमनलाई स्वागत गरेका छन् । उनले एनभिडिया र अमेरिकी अर्थतन्त्रको विकासका लागि हुआङको नेतृत्व आवश्यक रहेको भन्दै बोर्डको निर्णय सही भएको बताएका छन् ।

ट्रम्पले हुआङबाट राष्ट्रिय सुरक्षामा खतरा नरहेको र उनी कुनै गैरकानुनी गतिविधिमा संलग्न भएको प्रमाण नभेटिएको दाबी गरेका छन् । उनले हुआङलाई देशभक्त र राष्ट्रिय सम्पत्ति भन्दै कम्पनीलाई अमेरिकी निर्यात नियम पालना गरेको सुनिश्चित गर्न भनेका छन् ।

यसअघि सोमबार बिहान पनि ट्रम्पले एनभिडियाको बोर्डले हुआंगलाई पुन: सीईओ बनाउने अपेक्षा व्यक्त गरेका थिए ।

पुन: सीईओ बने पनि अनुसन्धान जारी

एनभिडियाले हुआङको पुनर्नियुक्तिले उनीसँग जोडिएको अनुसन्धान प्रभावित नहुने स्पष्ट पारेको छ । अनुसन्धान पूरा नभएसम्म प्रक्रिया जारी रहने कम्पनीको भनाइ छ ।

समाचारमा उल्लेख भएअनुसार हालैका विवरणमा एक विदेशी गुप्तचर निकायले हुआङलाई निशाना बनाएको दाबी गरिएको थियो ।  

त्यसपछि एनभिडियाको सञ्चालक समितिले अनुसन्धानका लागि स्वतन्त्र निर्देशकहरू सम्मिलित समिति गठन गरेको थियो । समितिले अनुसन्धानमा सहयोग गर्न छुट्टै कानुनी सल्लाहकारसमेत नियुक्त गरेको छ । हुआङले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् ।