प्रधानमन्त्रीको भ्रमणको उपलब्धि : सन् १९५० को सन्धि पुनरावलोकनको बाटो खुलेको दाबी

प्रधानमन्त्रीको भ्रमणको उपलब्धि : सन् १९५० को सन्धि पुनरावलोकनको बाटो खुलेको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारतको २ दिने राजकीय भ्रमणका क्रममा नेपालले भारतबाट २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता प्राप्त गर्ने भएको छ ।

नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने उद्देश्यसहित भएको भ्रमणमा हवाई तथा स्थलमार्गको कनेक्टिभिटी विस्तार, ऊर्जा सहकार्य, व्यापार तथा पारवहन सहजीकरण, पुराना सन्धि–सम्झौताको पुनरावलोकन र विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा महत्त्वपूर्ण समझदारी भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भएको प्रधानमन्त्री शाहको राजकीय भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै भ्रमणका उपलब्धिबारे जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको प्रेस नोटअनुसार भारतले नेपाललाई भारतीय रुपैयाँ १५ हजार करोड अर्थात् नेपाली रुपैयाँ करिब २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ ।

यसमध्ये भारतीय रुपैयाँ ३ हजार ५०० करोड अर्थात् नेपाली रुपैयाँ ५६ अर्ब अनुदानका रूपमा उपलब्ध हुनेछ। बाँकी भारतीय रुपैयाँ ११ हजार ५०० करोड अर्थात् नेपाली रुपैयाँ १ खर्ब ८४ अर्ब ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधाअन्तर्गत उपलब्ध गराइनेछ ।

यो भारतले नेपाललाई दिने हालसम्मकै ठूलो आर्थिक सहयोग प्याकेज भएको परराष्ट्रमन्त्री खनालले बताएका छन् ।

२ खर्ब ४० अर्बमध्ये ५६ अर्ब अनुदान, १ खर्ब ८४ अर्ब ऋण

भारतले उपलब्ध गराउने कुल विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनामा खर्च गर्ने गरी अनुदानका रूपमा उपलब्ध हुनेछ। विशेषगरी भोटेकोशीसहित विभिन्न क्षेत्रमा भएका विपद्पछिको पुनर्निर्माण र पूर्वाधार विकासमा यो रकम उपयोग हुने अपेक्षा गरिएको छ ।

त्यस्तै ऊर्जा क्षेत्रका परियोजनाका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ भारतीय मुद्रामा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट) अन्तर्गत उपलब्ध हुनेछ ।

यसअघि नेपालले भारतसँग १ खर्ब रुपैयाँ अनुदान र अर्को १ खर्ब रुपैयाँ ऋण सहायता माग गरेको थियो । भ्रमणका क्रममा भएको सहमतिअनुसार भारतले अनुदानतर्फ मागभन्दा कम र ऋण सुविधातर्फ बढी रकम उपलब्ध गराउने भएको छ ।

यद्यपि यो सहायता कुन–कुन परियोजनामा र कस्तो प्रक्रियाबाट खर्च हुनेछ भन्ने विषय भने आगामी दिनमा दुवै देशबीचको आपसी परामर्शबाट टुंगो लाग्नेछ ।

भैरहवा हवाई रुट दुईतर्फी बन्ने

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपालको हवाई कनेक्टिभिटी विस्तारसम्बन्धी अर्को महत्त्वपूर्ण सहमति भएको छ । हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी३४५ काठमाण्डु–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन नेपाल र भारत सहमत भएका छन् ।

यसअघि यो हवाई मार्ग एकतर्फी रूपमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो । अब दुईतर्फी बनाउन सहमति भएपछि काठमाण्डु र भैरहवाबाट लखनउतर्फ जाने तथा त्यहाँबाट नेपाल फर्किने हवाई उडान सञ्चालनका लागि बाटो खुल्नेछ ।

यसले विशेषगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उपयोग बढाउन, अन्तर्राष्ट्रिय उडान विस्तार गर्न र भैरहवालाई हवाई सम्पर्कको थप महत्त्वपूर्ण केन्द्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यद्यपि यससम्बन्धी प्राविधिक प्रक्रिया र कार्यान्वयनका विस्तृत विषय भने सम्बन्धित निकायबीचको छलफलबाट टुंग्याउनुपर्नेछ ।

पुराना सन्धि पुनरावलोकनको बाटो खुल्यो

नेपाल–भारत सम्बन्धमा लामो समयदेखि बहस हुँदै आएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित पुराना सन्धि–सम्झौता पुनरावलोकनको विषयमा पनि भ्रमणले नयाँ आधार तयार गरेको परराष्ट्रमन्त्री खनालले बताएका छन् ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज (ज्वाइन्ट भिजन डकुमेन्ट) जारी गरेका छन् ।

यो दस्तावेजले २ देशबीचको सम्बन्धलाई परम्परागत सहयोगका क्षेत्रबाट विस्तार गरी नयाँ सम्भावनाका क्षेत्रमा समेत सहकार्य गर्ने मार्गचित्र प्रस्तुत गरेको छ ।

परराष्ट्रमन्त्री खनालका अनुसार यही दस्तावेजले आवश्यकताअनुसार पुराना सन्धि, सम्झौता र समझदारी परिमार्जन गर्ने बाटो पनि खोलेको छ ।

उनले सन् १९५० को सन्धिलगायत पुराना सन्धिहरूमा बसेर नयाँ समयअनुकूल व्यवस्था गर्न तथा नेपाल–भारत सम्बन्धलाई नयाँ आयामबाट अघि बढाउन आवश्यक सन्धि–सम्झौता पुनरावलोकन गर्ने ‘स्पेस’ खुलेको बताएका छन् ।

नेपालले लामो समयदेखि उठाउँदै आएका कतिपय विषयलाई संयुक्त दूरदृष्टि दस्तावेजले सम्बोधन गरेको उनको भनाइ छ ।

तेस्रो मुलुकसँगको व्यापारका लागि दुई नयाँ बन्दरगाहको पहुँच

नेपालले तेस्रो मुलुकसँग गर्ने अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन भारतका थप २ बन्दरगाह प्रयोग गर्न पाउने भएको छ ।

हाल नेपालले मुख्य रूपमा भारतको कोलकाता र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ । अब गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) र ओडिशास्थित पारादीप बन्दरगाहलाई समेत नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि प्रवेशद्वारका रूपमा प्रयोग गर्न पहुँच उपलब्ध गराउने सहमति भएको छ ।

यसले नेपालका आयात–निर्यात व्यवसायीलाई बन्दरगाह छनोटका थप विकल्प उपलब्ध गराउनेछ । एउटै वा सीमित बन्दरगाहमा निर्भर रहनुपर्ने अवस्था कम गर्न, ढुवानीको समय र लागत व्यवस्थापन गर्न तथा अन्तर्राष्ट्रिय व्यापारलाई थप प्रतिस्पर्धी बनाउन यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैगरी, नेपाल र भारतबीचको व्यापार सहजीकरण, पारवहन व्यवस्थामा सुधार तथा सीमापार सम्पर्क सञ्जाललाई सहज बनाउने विषयमा पनि दुवै पक्षले मिलेर काम गर्ने सहमति गरेका छन् ।

जनकपुर–अयोध्या रेल सेवा उद्घाटन

२ देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन जनकपुर–अयोध्याबीच यात्रुबाहक रेल सेवा सञ्चालनको संयुक्त उद्घाटन गरिएको छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका हुन् ।

यसले नेपाल र भारतबीचको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै दुई देशका नागरिकबीचको आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ ।  

विशेषगरी जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्धलाई यातायात सञ्जालसँग जोड्ने यस पहलले पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउनेछ ।

यसैगरी भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने महाकाली नदीमाथिको मोटरेबल पुलको पनि दुवै प्रधानमन्त्रीले संयुक्त उद्घाटन गरेका छन् । पुल सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रका नागरिकको आवतजावत, व्यापार र स्थानीयस्तरको सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।

बनबासामा एकीकृत जाँचचौकीको शिलान्यास

सीमापार व्यापार र आवागमनलाई व्यवस्थित बनाउन भारतको बनबासामा एकीकृत जाँचचौकी (आईसीपी) निर्माणको संयुक्त शिलान्यास गरिएको छ ।

यस पूर्वाधारले भन्सार जाँच तथा क्लियरेन्स प्रक्रियालाई प्रभावकारी बनाउन, सुरक्षित अन्तरदेशीय व्यापार प्रवर्द्धन गर्न र सीमापार आवागमन सहजीकरण गर्न मद्दत पुग्ने सरकारको अपेक्षा छ ।

यसका अतिरिक्त २ देशबीचको सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मतसम्भारमा भएको प्रगतिबारे पनि प्रधानमन्त्रीहरूबीच छलफल भएको छ । विद्यमान सीमा सम्बन्धी विषयमा थप काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ ।

दुई नयाँ विद्युत् प्रसारण लाइन र तल्लो अरुणको शिलान्यास

ऊर्जा क्षेत्रको सहकार्यलाई विस्तार गर्ने विषयमा पनि भ्रमणका क्रममा महत्त्वपूर्ण सहमति भएको छ ।

नेपालको इनरुवादेखि भारतको न्यू पूर्णियासम्म र नेपालको दोधारादेखि भारतको बरेलीसम्म २ नयाँ विद्युत् प्रसारण लाइन संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मार्फत निर्माण गर्ने सहमति भएको छ ।

यी प्रसारण लाइन निर्माण भएपछि नेपाल–भारतबीच विद्युत् आदानप्रदानको क्षमता विस्तार हुनुका साथै क्षेत्रीय ऊर्जा व्यापारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

यसैगरी तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास पनि गरिएको छ । लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने सहमति भएको छ ।

पञ्चेश्वर आयोजना कार्यान्वयनका लागि डीपीआर अन्तिम रूप दिने विषय लामो समयदेखि पेचिलो बन्दै आएको थियो। पछिल्लो सहमतिले आयोजनालाई अघि बढाउने आधार तयार गरेको सरकारको बुझाइ छ ।

पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

नेपालको पेट्रोलियम आपूर्ति व्यवस्थालाई थप सहज र सुरक्षित बनाउन भारतको सहयोगमा निर्माण भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणको शिलान्यास गरिएको छ ।

यी परियोजना सम्पन्न भएपछि नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति थप सहज हुनुका साथै ढुवानी खर्च र जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसलाई नेपालको ऊर्जा सुरक्षासँग जोडेर हेरिएको छ ।

नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने

शिक्षा तथा अनुसन्धानको क्षेत्रमा पनि भारतसँग नयाँ सहकार्य अघि बढाउने सहमति भएको छ ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको वार्तापछि नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसबाट नेपालको उच्च शिक्षाको गुणस्तर सुधार, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन, दक्ष जनशक्ति उत्पादन र नेपाली युवाका लागि नयाँ अवसर सिर्जना हुने सरकारको अपेक्षा छ ।

यसैगरी भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसमक्ष भारतको ‘प्रधानमन्त्री गति शक्ति राष्ट्रिय बहुआयामिक सम्पर्क गुरुयोजना’ सम्बन्धी प्रस्तुतीकरण गरेका छन् ।

उक्त योजनामा सडक, रेलमार्ग, हवाईमार्ग, जलमार्ग तथा बन्दरगाहलाई एकीकृत गरी पूर्वाधार विकास, यातायात सम्पर्क विस्तार र ढुवानी प्रणालीलाई प्रभावकारी बनाउने विषय समेटिएको छ ।

८ वटा समझदारीपत्रमा हस्ताक्षर

भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न ८ वटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । सुरक्षा, अनुसन्धान, प्रशासनिक क्षमता अभिवृद्धि, स्वास्थ्य, आयुर्वेद, अन्तरिक्ष प्रविधि, सहरी विकास तथा कृषि क्षेत्रसँग सम्बन्धित विषयमा समझदारी भएको हो ।

हस्ताक्षर भएका समझदारीपत्र यसप्रकार छन् :

१. फरेन्सिक विज्ञान तथा अनुसन्धान सहकार्य

भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी भएको छ ।

२. प्रहरी तालिम तथा सुरक्षा सहकार्य

भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्यसम्बन्धी समझदारी भएको छ ।

३. निजामती कर्मचारीको क्षमता अभिवृद्धि

भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।

४. आयुर्वेद तथा परम्परागत चिकित्सा

नेपाल र भारतका सरकारबीच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

५. दक्षिण एसिया भूउपग्रहको उपयोग

भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना मन्त्रालयबीच दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी भएको छ ।

६. दिगो सहरी विकास

नेपाल र भारतका सरकारबीच दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने समझदारी भएको छ ।

७. स्वास्थ्य तथा औषधि

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा औषधिसम्बन्धी क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

८. पशुपालन तथा मत्स्यपालन

नेपाल र भारतका सरकारबीच पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकासमा सहकार्य गर्ने समझदारी भएको छ ।

यी समझदारीले दुई देशबीचको बहुआयामिक सहकार्यलाई संस्थागत तथा परिणाममुखी बनाउन सहयोग पुग्ने परराष्ट्र मन्त्रालयको विश्वास छ ।

सीमापार अपराध अनुसन्धानदेखि विपद् व्यवस्थापनसम्म सहकार्य

८ वटा समझदारीपत्रबाहेक २ देशबीच प्राकृतिक प्रकोप व्यवस्थापन, विकास आयोजनाको डिजिटलाइजेसन, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि, आयुर्वेद, पशुपालन र मत्स्यपालनको विकास तथा दक्षिण एसिया भूउपग्रहको उपयोगलगायतका क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, खेलकुद, कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनजस्ता नयाँ क्षेत्रमा सहकार्य अघि बढाउने विषयलाई संयुक्त दूरदृष्टि दस्तावेजमा समेटिएको छ ।

भारतमा लगानी गर्न नेपाली अर्थमन्त्रीको आग्रह

भ्रमणका क्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरूको सहभागितामा नेपाल–भारत बिजनेस राउन्ड टेबल आयोजना गरिएको थियो ।

कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी गराउँदै भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका थिए ।

नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउने गरी औद्योगिक तथा व्यावसायिक गतिविधि विस्तार गर्न उनले लगानीकर्तालाई प्रोत्साहित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेट, मोदीसँग विस्तृत वार्ता

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए । भेटमा नेपाल–भारतबीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

त्यसअघि नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको द्विपक्षीय वार्ता भएको थियो ।

वार्तामा कनेक्टिभिटी, ऊर्जा साझेदारी, व्यापार तथा आर्थिक सहकार्य, खेलकुद र जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको थियो। दुई प्रधानमन्त्रीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समेत विचार आदानप्रदान गरेका थिए ।

भ्रमणका क्रममा दुवै देशले संयुक्त प्रेस विज्ञप्ति पनि जारी गरेका छन् । लामो समयपछि प्रधानमन्त्रीस्तरको भ्रमणका अवसरमा यस प्रकारको संयुक्त वक्तव्य जारी भएको परराष्ट्रमन्त्री खनालले उल्लेख गरेका छन् ।

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सरकारको दाबी

परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री शाहको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ सकारात्मक लय स्थापित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन् ।

उनका अनुसार नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र आमनिर्वाचनपछि गठन भएको वर्तमान सरकार प्रमुखको भारत भ्रमणले दुई देशबीचको पुरानो सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक विकास, समृद्धि र जनस्तरको सहकार्य विस्तार गर्ने आधार तयार गरेको छ ।

उनले भारतसँगको सम्बन्धलाई आपसी सम्मान, विश्वास, संवेदनशीलताको समझदारी र पारस्परिक हितका आधारमा अघि बढाउन भ्रमण सफल भएको बताएका छन् ।

परराष्ट्रमन्त्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकारका विभिन्न निकाय तथा भारतीय नागरिकले भ्रमणका क्रममा दिएको स्वागत र आतिथ्यताप्रति आभार व्यक्त गरेका छन् । सरकारले भ्रमणलाई नेपाल र नेपाली नागरिकका लागि ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेको छ ।