परशुराममा डायमन्डको दादागिरीः कर्मचारीमाथि दुर्व्यवहार, दोषजति मेयरलाई!

परशुराममा डायमन्डको दादागिरीः कर्मचारीमाथि दुर्व्यवहार, दोषजति मेयरलाई!


टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा शुक्रबार वडाध्यक्षलाई पुनर्बहाली गराउन माग गर्दै तनाव सृजना भयो । शुक्रबार माओवादी केन्द्रका नगर अध्यक्ष शेरसिंह माल डायमन्डसहित माओवादीका नेता कार्यकर्ताहरू वडा नं ९ का अध्यक्ष देवबहादुर बोहरालाई पुनर्बहाली गराउन माग गर्दै नगरपालिका पुगेका थिए ।

मेयरका कार्यकर्ताले आफूमाथि हातपात गरेको भन्दै डायमन्डसहित माओवादीका कार्यकर्ताले केही समय नगर प्रमुखको कार्यकक्षमा नाराबाजी गरेका हुन् । त्यसबेला मेयरका कार्यकर्ताले आफ्नो कमिज च्यातेको भन्दै डायमन्ड गुन्डागर्दी गर्न पाईंदैन भन्दै हो हल्ला गर्न थाले । उनी आफै गुन्डागर्दी शैलीमा नाराबाजी गर्दै आक्रोशित बनेका थिए । डायमन्डले त्यहाँ डन-डन भन्दै हो हल्ला गरेका थिए ।

स्थानीय निर्वाचन अन्तर्गत मेयरमा २०७४ र ०७९ मा कांग्रेसका उम्मेदवारसँग पराजित भएका डायमन्डले शुक्रबार नगर प्रमुखको कार्यकक्षमा गरेको हर्कत देख्दा कुनै गुन्डागर्दी भन्दा कम थिएन । सार्वजनिक भिडियोमा उनले आफैले आफ्नै कमिज च्यातेको स्पष्ट देख्न सकिन्छ । उल्टै डायमन्डले नगरपालिकाका खेल प्रशिक्षक रामबहादुर बोहरामाथि ब्ल्याक बेल्ट भन्दै दुर्व्यवहार गरे ।

अहिले डायमन्डले गुन्डागर्दी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो भाइरल भएपछि चौतर्फी उनको आलोचना पनि भइरहेको छ । डायमन्डमाथि परशुराम नगरपालिकाका थुप्रै जनताको ठूलो आशा थियो । तर, शुक्रबार उनले गरेको हर्कतले भने उनीमाथि जनताले गरेको भरोसामा आँच आएको छ। नगर प्रमुखको कार्यकक्षमा आफ्नो जिम्मेवारी बिर्सेर गरेको गुन्डागर्दी शैलीले डायमन्डको नियतमाथि नै प्रश्न खडा गरेको छ ।

नगर प्रमुखको कार्यकक्षमा आफै आफ्नो कमिज च्यात्ने, अनी बाहिर आएपछि मेयरका कार्यकर्ताले मेरो कमजि च्यात्यो भन्दै जनतामा उनले भ्रम सिर्जनासेमत गरे । यथार्थ भन्दा बाहिर गएर जनतामा भ्रम सिर्जना गर्नुले नै डायन्डको नियतमाथि प्रश्न खडा गरेको हो ।

विवाद के हो ?

डडेल्धुरामा सामुदायिक वनका उपभोक्ता र पदाधिकारीसहित १८५ जनालाई २०६९ असोजमा वन फडानी गरि भ्रष्टाचार गरेको आरोप लगाउदै मुद्दा दायर गरेको थियो। जसमा वडाध्यक्ष बोहरा पनि थिए।

यहीबीचमा २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमार्फत बोहरा वडाध्यक्षमा निर्वाचित भएपनि जिल्ला निर्वाचन कार्यालयले स्वतः निलम्बनमा परेको जानकारी गराएको थियो। तर, जेठ २२ गते सर्वोच्च अदालतले १८५ जनलाई नै निर्दोष ठहर गरेको थियो। योसँगै बोहरालाई वडाध्यक्षका रुपमा काम गर्ने बाटो खुलेको छ।

यसैबीच डायमन्डसहित माओवादीका कार्यकर्ताहरुले नगरप्रमुखले वडाध्यक्षको पुनर्बहाली भएको पत्र दिनुपर्ने माग गरे। बोहरा पुनर्बहाली भएको पत्र नदिएसम्म कार्यपालिकाको बैठक चल्न नदिने डायमन्डले चेतावनी दिएका छन् ।

यद्यपी वडाध्यक्षको पुनर्बहालीको पत्र भने कसले दिने भन्नेबारे अन्यौल छ। माओवादीले नगरपालिकाबाट पत्र माग्दा मेयर भरत बडायर जोशी भने निलम्बन गर्नका लागि निर्वाचन कार्यालय र अख्तियारबाट पत्र आएकाले आफू पत्र दिन नसक्ने बताउँछन्। ‘हामीले निलम्बन गरेका होईनौँ, जिल्ला निर्वाचन कार्यालय र अख्तियारबाट पत्र आएपछि निलम्बन गरिएको हो। हामीले त्यही अनुसारको पत्र पठाएका छौं। उहाँ निर्दोष ठहरिएपछि जिम्मेवारीमा फर्किनुहुन्छ यसमा हाम्रो कुनै गलत मनशाय छैन।’, उनले भने ।

यसबारेमा जानकारहरू भने सर्वोच्च अदालतले निर्दोष सावित गरेको पत्र लिएर गए वडाध्यक्षका रुपमा काम गर्न पाउने बताउँछन्। निर्वाचन आयोगका केन्द्रीय प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो आफूहरूको क्षेत्राधिकारको विषय नभएपनि स्वतः निलम्बनमा परेका जनप्रतिनिधि निर्दोष ठहर भएपछि स्वतः पुनर्बहाली हुने बताए।

यस्तै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेल पनि सर्वोच्चले निर्दोष ठहर गरेपछि स्वतः पुनर्बहाली हुने र निर्दोष प्रमाणित गरेको पत्र कार्यपालिकामा लैजानुपर्ने बताउँछन्। उक्त मुद्दामा सर्वोच्च अदालतले भने पूणर्पाठ सार्वजनिक गरिसकेको छैन।

यद्यपि डायमन्डले भने आफूहरूले सर्वोच्चले गरेको फैसलाको फैसलाको संक्षिप्त जानकारीसहितको पत्र लिएर गएको र मेयरले प्रकृया अघि बढाउनुपर्ने बताए । सम्बन्धित निकायले पूणर्पाठ सार्वजनिक नभएसम्म कुर्नुपर्ने ब्यहोरा दिएपछि आफूहरूलाई मान्य हुने उनको भनाइ छ। मेयर जोशीले भने आफूले तोक लगाएर निवेदन सम्बन्धित निकायमा पठाइसकेको दावी गरेका छन् ।