देउसी गाउँदै रविको वाचा-जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने

देउसी गाउँदै रविको वाचा-जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी–भैलोको भाकामै वर्तमान सरकार पाँच वर्ष टिकाउने वाचा गरेका छन्।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिले आयोजना गरेको सद्भाव देउसी(भैलो कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई आफ्नै निवासमा स्वागत गर्दै लामिछानेले देउसी गाउँदै सरकारको स्थायित्वको प्रतिबद्धता व्यक्त गरेका हुन्।

कार्यक्रममा उनले देउसीको भाकामा भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’

देशमा पुनः आन्दोलन हुन सक्ने चर्चा भइरहेका बेला लामिछानेले त्यसको जवाफ पनि देउसीकै भाकामा दिएका छन्। उनले भने, ‘देशले अब आन्दोलन धान्दैन, परि आए यी खुट्टा चाहिँ काम्दैनन्।’

देउसी(भैलो कार्यक्रममा लामिछानेसँगै उनकी पत्नी निकिता लामिछाने र परिवारका अन्य सदस्यको पनि सहभागिता थियो। उक्त अवसरमा उनले देशभरका सञ्चारकर्मी तथा कलाकारलाई तिहार र छठ पर्वको शुभकामना व्यक्त गरे।

सञ्चारकर्मी तथा कलाकारसँगको सम्बन्ध स्मरण गर्दै लामिछानेले आफूहरूले सँगसँगै यात्रा सुरु गरेको बताए।

उनले भने, ‘तपाईंहरूलाई हाम्रो यो यात्राको सहयात्रीका रूपमा देखेको छु। हामी राजनीतिमा स्थापित हुने बेलामा तपाईंहरू पनि सञ्चारकर्ममा स्थापित हुँदै हुनुहुन्थ्यो। कताकता यो यात्रामा मसँगै कलाकारहरू पनि हुनुहुन्थ्यो। यात्रा सहज छैन, तर सँगै गरेको यो यात्रामा हामी सबै साक्षी छौँ।’

लामिछानेले संसारभर तिहार तथा छठ पर्व मनाइरहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले रास्वपा सभापति लामिछानेले सञ्चारकर्मीलाई आफ्नै निवासमा स्वागत गरी देउसी–भैलोमा सहभागी गराएकोमा धन्यवाद व्यक्त गरे।

सद्भाव, आपसी सम्बन्ध र सांस्कृतिक एकताको सन्देश दिने उद्देश्यले आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकार र राजनीतिक नेतृत्वबीचको सम्बन्ध थप आत्मीय बनेको सहभागीहरूले बताएका छन्।