काठमाण्डु- नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाण्डुको फोहोर फ्याँक्न रोक लगाएका छन् । सोमबार ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाण्डुबाट फोहोर बोकेर गएका टिपरलाई बाटोमै रोकेका हुन् ।
यसअघि सरकार र काठमाण्डु महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जन गर्न नदिने स्थानीयहरुको अडान छ । सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र विसर्जन गर्नेलगायतका सहमति नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दासँग गरेको थियो ।
स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक-पटक झुक्याइएको आरोप लगाएका छन् । नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार ५०० रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराएको थियो । तर, अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीयको स्वास्थ्य महत्वपूर्ण भएकाले फोहोर नै फाल्न नदिने जनप्रतिनिधिहरूले बताएका छन् ।




प्रतिक्रिया