भद्रपुर – झापा जिल्लाका सबै प्रहरी कार्यालयमा अपराध पीडितलाई सहयोग पु¥याउने उद्देश्यले सोमबारदेखि ‘पीडितको साथी प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको छ ।
कुनै पनि घटना वा अपराधबाट पीडित व्यक्तिले प्रहरीमा उजुरी दिएपश्चात् ‘पीडितको साथी प्रहरी’ कार्यक्रमअन्तर्गत घरै बसेर आफ्नो उजुरीको सुनुवाइ के कसरी भइरहेको छ भन्ने जानकारी फोनमार्फत पाउने व्यवस्था मिलाइएको छ ।
‘पीडितको साथी’ उल्लेख भएको भोटो लगाएर प्रहरी कार्यालय परिसरमा प्रहरी चौबीसैँ घण्टा उपस्थित रहने र उनीहरुले पीडितलाई सहायता पु¥याउने जिप्रकाका उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम पीडितमैत्री हुनेछ ।
झापा जिल्लाको प्रहरीलाई नमूना प्रहरी बनाउने उद्देश्यले शुरु गरिएको यस अभियानमा कुनै घटना वा अपराधमा पीडितको निवेदन परेपछि त्यसअनुसारको अनुसन्धान शुरु भएको, पीडक पक्राउ परेको, पीडित पक्षको प्रमाण जुटाएको, साक्षी बोलाएको, पीडकको बयान लिएको, अनुसन्धान दह्रो बनाएर अदालतसम्म पु¥याएको, अदालतले तारेख, धरौटीमा छाडेको वा थुनामा राखेको आदि विषयमा प्रहरीले सम्बन्धित पीडितलाई टेलिफोनबाट जानकारी दिने भएको छ ।
झापामा शुरु गरिएको यस कार्यक्रमले विशेष गरी गम्भीर प्रकृतिका घटना, जबर्जस्ती करणी, कर्तव्य ज्यान, अपहरण, चोरी डाँकालगायत र सामान्य ठाडो निवेदनवाला पीडितलाई ठूलो राहत मिल्ने उपरीक्षक ढकालको विश्वास छ । जिल्लामा रहेका प्रहरीका ७९ वटा प्रहरी कार्यालयमार्फत यो कार्यक्रम लागू गरिएको उपरीक्षक ढकालको भनाइ छ ।




प्रतिक्रिया