काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफू गुटबन्दी मुर्दावाद र पार्टी एकता जिन्दावाद भनेर अघि बढेको बताएका छन् ।
बुटवलमा शुरू भएको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले आफू र महासचिवलाई जोडेर गुटबन्दीको चर्चा चलेकोमा आपत्ति जनाए ।
उनले एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो सफल हुन नदिने बताए । ‘एमालेभित्र नीति र विधिमा कुनै विवाद छैन । यही नीतिले देश विकास हुन्छ,’ उनले भने, ‘नेतृत्वको प्रश्नमा पनि विवाद छैन । विवाद होस् भनेर कोसिस भइरहेका छन् तर ती पानीको फोका हुनेछन् ।’
पार्टीको १०औं महाधिवेशनबाट निर्वाचित एमालेको कमिटी एकताबद्ध रहेको भन्दै अध्यक्ष केपी ओलीको नेतृत्वमा सबै गोलबद्ध रहेको उनले बताए । ‘एमालेको अधोगति चाहनेहरू षड्यन्त्र गरिरहेका छन् । पार्टीभित्र गुटको कुरा प्रचारमा ल्याइएको छ । पार्टी र गुट विपरीत विशेषता हुन् । गुट र पार्टी कहिल्यै पनि सँगै जान सक्दैन,’ उनले भने, ‘पार्टी बनाउने हो भने गुट समाप्त हुन्छन् । गुटबन्दीको चर्चा गर्ने रंगिन समाचारबाट तरंगित नहुनुहोला ।’
एमालेमा ओलीको विकल्पमा चलेको चर्चा मिथ्या भएको उनले बताए । उनले एमालेभित्रको एकतालाई कमजोर पार्ने प्रयासलाई कुनै हालतमा सफल हुन नदिने भन्दै नेतृत्व उमेर नभएर विचार भएकाले समकालीन राष्ट्रिय राजनीतिका दूरदर्शी नेता केपी ओली रहेको बताए ।




प्रतिक्रिया