चौतर्फी निशानामा गृहमन्त्री नारायणकाजी

चौतर्फी निशानामा गृहमन्त्री नारायणकाजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न आपराधिक प्रकरणको छानबिनका क्रममा नेकपा माओवादी केन्द्रनिकट नेतालाई बचाएको र नेपाली कांग्रेसका नेतालाई फसाएको आरोप लाग्दै आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि चौतर्फी निशानामा परेका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै खुकुरी प्रहार भएपछि गृहमन्त्री श्रेष्ठले शान्तिसुरक्षाको प्रत्याभूति गराउन नसकेको आरोप लागेको छ ।

यसअघि कांग्रेस सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा पनि गृहमन्त्री श्रेष्ठको आलोचना भएको थियो । शर्मा पछि अदालतको आदेशबाट रिहा भएका थिए ।

कांग्रेस नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँण पक्राउ प्रकरणमा पनि कांग्रेसले गृहमन्त्रीप्रति असन्तुष्टि जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गृहमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएको खबर बाहिरिएको थियो ।

पार्टीका केन्द्रीय पदाधिकारीमाथि दिनदहाडै खुकुरी प्रहार भएपछि कांग्रेस थप आक्रोशित बनेको छ । प्रहरीले खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम सापकोटालाई तत्कालै पक्राउ गरे पनि राजधानीमै आपराधिक मानसिकता देखिएको घटनाले सबैलाई झस्काएको छ ।

आपराधिक मनोवृत्तिलाई सरकार, प्रहरी र सुरक्षा निकायको डर नहुनु झनै खतरनाक अवस्था हो । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भने, ‘कहाँ के काममा जाँदा जीउज्यान असुरक्षित हुने हो भन्ने भएको छ ।’ उच्चपदस्थ राजनीतिक व्यक्तिमाथि नै खुलेआम खुकुरी प्रहार हुँदा सर्वसाधारणमा त्रास फैलिएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि आक्रमणले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने अवस्था सिर्जना भएको टिप्पणी गरे । ‘सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । राम्रोसँग अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु – काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ ।’

नेकपा एमालेका सचेतक महेश बर्ताैलाले घटनाका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले घटनाको जानकारी माग्दै भने, ‘यसपछि बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले सम्पूर्ण सत्यतथ्य विवरणको जानकारी र भएका सम्पूर्ण जानकारी गर्नुहुनेछ भन्ने माग गर्दछु ।’

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले खुकुरी प्रहार घटनाप्रति दुःख व्यक्त गर्दै शान्तिसुरक्षाको व्यवस्थामाथि प्रश्न उठाएका छन् ।

घटनालगत्तै प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसको भाृत संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ, ‘देशमा आमनागरिकको जीउ, ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रूपले असफल भएको यस घटनाले पुष्टि गरेको छ ।’

खुकुरी प्रहार घटनाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने नेविसंघले जनाएको छ । ‘राजधानीको सार्वजनिक स्थलमा पूर्व मन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

ललिता निवास प्रकरण र सुन तस्करी प्रकरणमा नाम आएका आरजु राणा देउवा र कृष्णबहादुर महरालाई छानबिनको दायरामा नल्याई जोगाएको भन्दै गृहमन्त्री श्रेष्ठको आलोचना हुँदै आएको छ ।

भाषणमा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमा मुछिएको कसैलाई छुट हुँदैन भन्ने गरेका छन् तर माओवादीकै उपाध्यक्ष कृष्णबहादुर महराले छुट पाएका पायै छन् । शान्तिसुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा सर्वसाधारणमा त्रास उत्पन्न हुने अवस्था देखिएको छ ।