काठमाण्डु – पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका छन् ।
आज बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले संसद्बाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्सा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने कर्तव्य भएको बताए ।
अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नक्साबारे जानकारी गराउनु दायित्व पनि भएको उल्लेख गर्दै उनले त्यसो गरे/नगरेको सम्बन्धमा सरकारलाई प्रश्न समेत गरे ।
यदि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रूपमा, कसरी गराइएको हो तत्कालीन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने उनले बताए ।
उनले भने, ‘संसद्बाट हाम्रो नक्सा पारित भइसकेपछि स्वाभाविक रूपमा सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने नेपाल सरकारको कर्तव्य हुन्थ्यो, दायित्व हुन्थ्यो । त्यसअनुसार सबैलाई गराइयो गराइएन ? त्यो गराइयो भने मौखिक मात्रै गराइयो कि लिखित रूपमा प्रस्तुत गर्ने काम भयो, भएन ? पछि लेखेर पठाउने काम हुन सक्यो, सकेन ? के भएको हो ? पहिले तथ्य कुरा थाहा पाउनुपर्यो ।’
परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पुर्याउन नसकेको उनले बताए । अध्यक्ष नेपालले परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीको समीक्षा गर्दै आगामी दिनमा दोहोरिन दिन नहुने बताए ।




प्रतिक्रिया