सुन तस्करी प्रकरणमा हालसम्म ३२ जना पक्राउ

सुन तस्करी प्रकरणमा हालसम्म ३२ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ब्रेक प्याडहरूमा लुकाइछिपाई अवैध सुन पैठारी तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा हालसम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा विदेशी नागरिकहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सुनको कारोबारमा संलग्न ११ जना, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक/कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना र कम्पनी खडा गर्ने/माल वस्तु व्यवस्थापक २ जना गरी जम्मा ३२ जना छन् भने १८ जना फरार रहेका छन् ।

रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेक प्याडहरूमा लुकाइछिपाई अवैध पैठारी गरेको जम्मा बरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरेको अवस्थामा बरामद भई आएका ब्रेक प्याडहरूको तौलबाट यकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ ।

सुन तस्करको लागि ७ वटा कम्पनी खडा गरिएको, २ ठाउँमा सुन गाल्ने गरिएको, ब्रेकप्याड, सेभर, स्मार्ट वाच एवं विभिन्न प्रकारका विद्युतीय उपकरणहरूमा सुन आयात गरी ल्याइएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले गत साउन २ गते काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा२ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेकप्याड १६० सेटसहित ८ कार्टुन बरामद गरेको थियो । परीक्षणपछि सुन रहेको यकिन भएपश्चात राजस्व अनुसन्धान विभागले अवैध सुन चोरी पैठारी राजस्व छलि मुद्दा दर्ता भएको र १९ दिनसम्मको अनुसन्धानबाट १६ जनालाई पक्राउ गरी संगठित अपराध मुद्दामा अनुसन्धानको लागि विभागबाट गत साउन २१ गते फाइल प्राप्त भई केन्द्रीय अनुसन्धान व्यूरोले साउन २२ गतेबाट अवैध सुन पैठारी तथा संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ ।