अफगानिस्तानमा गैरसरकारी संस्थाका १८ कर्मचारी पक्राउ

अफगानिस्तानमा गैरसरकारी संस्थाका १८ कर्मचारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको तालिबान सरकारले एक विदेशीसहित स्वीट्जरल्यान्डमा दर्ता गरिएको गैरसरकारी संस्थाका १८ कर्मचारीलाई पक्राउ गरेको छ।

इन्टरनेसनल असिस्टेन्ट मिसन (आईएएम)ले आफ्ना ती कर्मचारीलाई मध्य अफगानिस्तानको घोर प्रान्तस्थित कार्यालयबाट पक्राउ गरेर राजधानी काबुल लगिएको जनाएको छ।

आफ्ना कर्मचारीविरुद्ध लगाइएको आरोपबारेमा हालसम्म कुनै जानकारी नभएको र त्यस सम्बन्धमा कुनै टिप्पणी वा अनुमान गर्न नसकिने आईएएमले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ।

‘यद्यपि, हाम्रो संगठन वा कुनै कर्मचारीविरुद्ध अभियोग लगाइएमा प्रस्तुत गरिएका प्रमाणको स्वतन्त्र रूपमा समीक्षा गर्नेछौँ। हामी स्थानीय संस्कृतिको सम्मान गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

तालिबान अधिकारीले पनि गैससका कर्मचारीलाई हिरासतमा लिइएको बारे तत्काल प्रतिक्रिया दिएका छैनन्। सन् १९९६ देखि अफगानिस्तानमा आँखा सेवा सञ्चालन गरेको आईएएमले स्वास्थ्यका अरू विधा र शिक्षा क्षेत्रमा काम गर्दै आएको छ। आईएएमको वेबसाइटमा संस्थालाई इसाईका मूल्य–मान्यतामा आधारित भनिए पनि यसले राजनीतिक वा धार्मिक विश्वासका आधारमा सहायता प्रदान नगर्ने स्पष्ट गरिएको छ।

अगस्ट २०२१ मा तालिबान सत्तामा फर्किएपछि धेरै पश्चिमासहित अज्ञात संख्यामा विदेशीलाई तालिबान अधिकारीले हिरासतमा लिएका छन्। तालिबान शासकले शरिया कानुन लादेर महिलालाई गैरसरकारी संस्था र संयुक्त राष्ट्रसंघका निकायमा काम गर्नबाट वञ्चित मात्र गरिएको छैन, किशोरी र महिलालाई स्कुल/विश्वविद्यालय अध्ययनमा प्रतिबन्ध लगाइएको छ।