बिग्रिएको मिठाइ बेच्ने टिपटपलाई महानगरले गर्‍यो २ लाख जरिवाना

बिग्रिएको मिठाइ बेच्ने टिपटपलाई महानगरले गर्‍यो २ लाख जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपभोग गर्ने म्याद गुज्रिएर बिग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

महानगरपालिका–१७ नघल रहेको पसलले खान नमिल्ने गरी बिग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘प्राप्त सूचनाका आधारमा अनुगमन भएको हो ।’

गुनासो आएपछि कृषि तथा पशुपन्छी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो ।

‘फाटेको दूधमा दुधवरी बनाइएको पाइयो । पसलमा बस्ने व्यक्तिहरुमा शिष्टाचार थिएन । रुखो र अशिष्ट बोलीचाली थियो,’ निरीक्षण अधिकृत डा. झाले भने, ‘उचित तापक्रममा नराखेका कारण दूध फाटेको र त्यही फाटेका दूधमा मिठाइ बनाएको पाइएपछि कारवाही गरिएको छ ।’ अनुगमनका क्रममा करीब ५ किलोग्राम बिग्रिएको मिठाइ उत्पादक आफैंलाई नष्ट गर्न लगाइएको थियो ।

जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा बिक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, बिग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिइएको छ ।