काठमाण्डु- सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज पनि शिक्षकहरूले प्रदर्शन गरेका छन् । काठमाण्डुको माइतीघर तथा वानेश्वर क्षेत्रमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।
बुधवारबाट सुरु भएको काठमाण्डु केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरूको अडान छ । शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । शिक्षकहरूको प्रदर्शनका विद्यार्थीहरुको पठनपाठन अस्तव्यस्त बनेको छ ।
यता काठमाण्डु महानगरपालिकाले पठनपाठन ठप्प पारेर आन्दोलनका कार्यक्रम घोषणा नगर्न शिक्षकहरूलाई बारम्बार आग्रह गर्दै आएको छ । आन्दोलनका नाममा विद्यालयको पठनपाठन ठप्प पारिए कानुनअनुसार कारबाही गर्ने महानगरले चेतावनीसमेत दिएको छ ।
काठमाण्डु महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरमा लगभग साढे २ लाख विद्यार्थी र १० हजारभन्दा बढी शिक्षकहरू रहेको उल्लेख गर्दै शिक्षा विधेयकमा आफूहरूको पनि असहमति रहेको जनाएका छन् । तर, पनि मेयर बालेनले विद्यालय नै ठप्प पारेर आन्दोलनमा नजान शिक्षकहरूलाई आग्रह गर्नुका साथै आन्दोलनमा गए कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउनुहोला । यस्ता अवरोध पुर्याउनेहरूलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ।’ बालेले फेसबुकमा लेखेका छन् ।
महानगर र बालेनको चेतावनीलाई बेवास्ता गर्दै काठमाण्डु महानगरपालिकाभित्रका सामुदियक विद्यालयका प्रधानाध्यापकहरू भने आजपनि आन्दोलनमा उत्रिएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै महानगरका प्रधानाध्यापकहरूले शिक्षक महासंघले सुरु गरेको आन्दोलनमा समर्थन गर्दै त्यसमा सहभागी हुने जनाएका थिए ।
‘नेपाल शिक्षक महासंघले काठमाण्डु केन्द्रित आन्दोलन गरी देशैभरिको विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनि सुरु गरेको कार्यक्रमहरूलाई समर्थन गर्दै अर्को सूचना नभएसम्मका लागि काठमाण्डु महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकको निर्णय गरेकाले माइतीघर मण्डलामा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्दै विज्ञप्ति जारी गरिएको छ,’ बुधबार जारी विज्ञप्तिमा भनिएको थियो ।
जसअनुसार मेयर बालेनको चेतावनीलाई बेवास्ता गर्दै काठमाण्डु महानगरपालिकाभित्रका सामुदियक विद्यालयका शिक्षक आज पनि आन्दोनमा गएका हुन् । काठमाण्डु महानगरपालिकाले भने विद्यालय नै ठप्प पारेर आन्दोलनमा जाने शिक्षकलाई खोजि खोजि कारबाही गर्ने बताइसकेको छ ।
यो पनि पढ्नुहोस्, काठमाण्डु महानगरले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने




प्रतिक्रिया