विश्व दृष्टि दिवसमा टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

विश्व दृष्टि दिवसमा टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।

असोज २५ गते अर्थात अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद ५० हजारसहित संघले सम्मान गर्नेछ । प्रतियोगिताले आँखा स्वास्थ्यमा केन्द्रित भई जनचेतनामूलक भिडियो निर्माण गर्नुपर्नेछ ।

पछिल्लो समय युवादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिमाझ लोकप्रिय भइरहेको टिकटकमार्फत आम नागरिकलाई आँखाको महत्त्व र आँखा स्वास्थ्यका विषयमा जनचेतना जगाउने उद्देश्य प्रतियोगिता आयोजना गरिएको नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।

संघका महासचिव भरतबहादुर चन्दका अनुसार सन् २०२१ मा भएको आरएएबी सर्वेले समेत नेपालमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतनाको कमी रहेको देखाएको र अहिले पनि नेपालका धेरै नागरिकहरू आँखा उपचार हुन्छ भन्ने जानकारीकै अभावमा दृष्टिविहीन जीवन बिताइरहेका छन् ।

स्थापनाकालदेखि नै संघले आँखा उपचार सेवासँगै आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कामलाई पनि निरन्तरता दिइरहेको र अहिले पछिल्लो समय मानिसहरूमा आएको सामाजिक सञ्जालको बढ्दो लोकप्रियतालाई मध्यनजर गरेर जनचेतनाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष प्रा.डा चेतराज पन्तले बताए ।

आईकेयर फाउन्डेसनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगीहरूले निर्माण गरेको भिडियोको विषयवस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा विषयबस्तु समावेश गर्न पाइने छैन ।

प्रतियोगीले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्नेछन्, त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समावेश नगरिने संघका कार्यक्रम व्यवस्थापक रञ्जन साहले बताए । विजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति संघको टिकटक तथा फेसबूकमार्फत गराइने संघले जनाएको छ ।