जनकपुर – राष्ट्रपति रामचन्द्र पौडेलले जनताको ठूलो बलिदानबाट प्राप्त भएको संघीयतालाई मजबुत बनाउन आवश्यक पर्ने कानूनको निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले आज सोमबार जनकपुरधामको नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले निजामती ऐन तथा प्रहरी ऐन चाँडो ल्याउनका लागि दलका शीर्ष नेतासँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले नेपालको राजकीय सत्तामा सबै नेपालीको समान सहभागिताले मात्र मुलुक स्थिरता तथा समृद्धिको बाटोमा जानेप्रति आफू विश्वस्त रहेकाले त्यसका लागि सधैं आफूले पहिलादेखि नै मधेश आन्दोलनको क्रममा मधेशी जनताको मागको सम्बोधन गराउने काम गरेको स्मरण गराए ।
उनले मधेशको अन्न उत्पादन तथा पहाडको पानीको उचित प्रयोगले मुलुकलाई चाँडै समृद्धिको मार्गमा लान सक्ने भएकाले नै सुनकोशी–कमला मरिन डाइभर्सनको कुरा आफू कृषिमन्त्री भएकै बेलामा योजना बढाएको र अहिले कार्यान्वयनको चरणमा गएकाले खुशी व्यक्त गरे ।
राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने पद भएकाले आफूले सबै धर्म, संस्कृति तथा परम्पराप्रति उत्तिकै सम्मान गरेर पदको गरिमा बढाउने प्रयास गरेको बताए ।




प्रतिक्रिया