काठमाण्डु – सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रहरी कर्मचारीका लागि काज सरुवा सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयन गर्न परिपत्र गरेको छ ।
व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकूल कार्यालयमा काज सरुवा हुने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी काज सम्बन्धी नयाँ मापदण्ड तयार गरिएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीलाई अधिकतम ६ महिना अवधिको लागि आफूलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिनसक्ने र समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्ने नयाँ मापदण्डमा उल्लेख छ ।
काज स्वीकृत भएका कर्मचारीले ६ महिनाभन्दा बढी काज बस्नका लागि कबुलियतनामाको फाराम भरी दस्तखत गर्नुपर्ने तथा कबुलियतनामा उल्लेख भए अनुसारको शर्तनामा स्वीकृत भएको ६ महिना काज सुविधा उपयोग गरिसके पश्चात् लागू हुने थापाले बताए ।
काज सुविधा पूरा भएपछि कर्मचारी सम्बन्धित दरबन्दीमा अनिवार्य रूपमा हाजिर हुनुपर्नेछ । तोकिएको समय अवधिभित्र आफ्नो समस्यालाई समाधान गरी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएमा कबुलियतनामा फाराममा उल्लेख भएका कल्याणकारी सेवा सुविधा, अनपोल तथा एफपीयु मिसन, विदेश तालिम तथा अन्य निकायबाट सञ्चालन हुने तालिम, कमाण्ड लगायतका सुविधाबाट वञ्चित हुनुपर्नेछ ।
थप काज बस्ने कर्मचारीहरूलाई वृत्तिविकास अन्तर्गत बढुवामा प्रत्यक्ष असर पर्ने गरी वार्षिक कार्यसम्पादन र चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापतको मूल्यांकन अंक कम मात्रामा दिइने मापदण्डमा उल्लेख छ ।
हाल काजमा कार्यरत रहेका कर्मचारीलाई नयाँ मापदण्ड अनुसार असोज २२ गतेदेखि लागू हुने गरी ६ महिना अवधि दिइनेछ, त्यसपछि तोकिएको दरबन्दीमा अनिवार्य हाजिर हुनुपर्नेछ ।
अस्थायी कार्यालयमा संगठनले आवश्यक ठानी काज खटाइएका तथा स्वास्थ्य, सञ्चार तथा इन्जिनीयरिङ, लेखा, कानून एवं प्राविधिक समूहतर्फका कर्मचारीलाई आवश्यकता अनुसार काज खटाई कामकाज गर्न सक्नेछन् भने सो सेवा तथा समूह भित्रका कर्मचारीले भने कबुलियतनामा फाराम भर्नुपर्ने छैन ।
एक पटक काजको सुविधा लिइसकेका कर्मचारीले कम्तीमा २ वर्षसम्म काजको अर्को सुविधा प्राप्त गर्ने छैन । कबुलियतनामा शर्तको समयावधिको विवरण ६/६ महिनामा अद्यावधिक गरी प्रधान कार्यालय अन्तर्गतको कल्याणकारी सेवा केन्द्र, यूएन मिसन शाखा, तालिम शाखा, कर्मचारी प्रशासन शाखा, सामान्य प्रशासन शाखामा अनिवार्य जानकारी गराउन समेत भनिएको छ ।
काजमा कार्यरत कर्मचारीलाई सम्भव भएसम्म सरुवा मिलान गर्दा प्राथमिकता दिई दरबन्दी कायम गर्नुका साथै भूगोल, यातायात लगायतका सुविधाका दृष्टिकोणले सबै कार्यालयमा समान आकर्षण हुन नसक्ने भएको हुँदा संगठनलाई प्राप्त जिम्मेवारी बहन गर्न तोकिएको दरबन्दी संरचना र जिम्मेवारी निर्वाह गर्न देशका जुनसुकै ठाउँमा खटिई कर्तव्य निर्वाह गर्नुपर्ने भएकाले संगठनले लिएको नयाँ नीतिसँगै सेवासुविधा र कमाण्ड लगायतका क्षेत्रमा समान अवसर दिइने सशस्त्र प्रहरीले जनाएको छ ।




प्रतिक्रिया