कोशी प्रदेशको मुख्यमन्त्री बन्न कांग्रेस र माओवादीमै रस्साकस्सी

कोशी प्रदेशको मुख्यमन्त्री बन्न कांग्रेस र माओवादीमै रस्साकस्सी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले विश्वासको मत नपाउने अवस्था देखेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिए ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीले उपधारा (४) अनुसार विश्वासको मत लिन नसकेपछि अब उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त हुनेछन् ।

अबको प्रक्रियामा प्रदेश सभामा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन् । मुख्यमन्त्री नियुक्त हुन चाहनेले बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुपर्नेछ ।

आगामी मुख्यमन्त्रीका लागि सत्ता सहयात्री दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमै रस्साकस्सी हुने देखिएको छ । केन्द्रमा कांग्रेस र माओवादीको सत्ता गठबन्धन छ ।

शनिबार मुख्यमन्त्री कार्कीले राजीनामा दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निवर्तमान मुख्यमन्त्री उद्धव थापाले भने, ‘मैले यसअघि २ पटक मुख्यमन्त्री बन्ने मौका त पाएँ तर काम गर्ने अवसर पाइनँ । त्यसैले अब मेरो दाबी रहन्छ तर गठबन्धनका शीर्ष नेताहरूले यसबारे टुंगो गर्नुहुन्छ ।’

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्बोले पनि अब मुख्यमन्त्रीमा माओवादीको दाबी रहने बताए । उनले भने, ‘नेपाली कांग्रेसले यसअघि २ पटक अवसर पायो, बहुमत सिद्ध गर्न सकेन । माओवादी नेतृत्वमा सरकार बन्दा बहुमत जुटाउन सजिलो हुने विश्वासमा हामी छौं ।’

नेकपा एमालेका दल नेता कार्कीले दलहरू नमिलेमा मध्यावधि निर्वाचनको संकेत गरे । उनले मध्यावधि हुने अवस्थामा चुनाव भाग लिन एमाले नडराउने बताउँदै राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, आर्थिक अवस्था र जनचाहना अनुसार फेरि निर्वाचनको चाहना नभएको बताए ।

उनले भने, ‘अहिलेको जटिलता र अंकगणितको अवस्थाले थप जटिलतालाई नजरअन्दाज गर्ने हो भने हामी मध्यावधिको अवस्थामा पुग्नेछौं । अहिलेको अंकगणित जुन छ, ४० सिट भएको पार्टी एकातिर नेकपा एमाले छ । हामीसँग सहकार्य गरेका दल छन् । अर्कोतिर गठबन्धन दल छ, उसको पनि स्पष्ट बहुमत छैन । यो बीचमा घुमिरहेका छौं, हामीले यो अंकगणितलाई ख्याल गरेनौं भने मध्यावधि हाम्रो अगाडि निश्चित छ । यो चाहना र माग हो भने जनताको बीचमा जान नेकपा एमाले डराउँदैन । निर्वाचनमा जान तयार छ तर निर्वाचन अहिले राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, जनताको चाहना, सामाजिक अवस्था आदि केहीमा जनताले निर्वाचनको माग गरेका छैनन् ।’