एमाले सुदूरपश्चिममा त्रिपक्षीय प्रतिस्पर्धा : संस्थापनको समर्थन कता ?

एमाले सुदूरपश्चिममा त्रिपक्षीय प्रतिस्पर्धा : संस्थापनको समर्थन कता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैशी र वचनबहादुर सिंह उम्मेदवार देखिएका छन् । यी तीनै उम्मेदवारका पछाडि केन्द्रीय कमिटीका नेताहरूसम्मको छुट्टाछुट्टै समूह बनेको छ ।

अधिवेशन उद्घाटनमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सहमतिकै प्रयासका लागि महासचिव शंकर पोखरेलले धनगढीमै बसेर छलफल गरिरहेका छन् । सहमतिकै प्रयासबीच निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको छ । कार्यतालिकाअनुसार आज मंगलबार साँझदेखि मतदान हुनेछ । तर निर्वाचन अधिकृतले कार्यतालिका संशोधन गर्न सक्नेछन् ।

सहमतिको छलफल चलिरहेका बेला अध्यक्षका आकांक्षीहरू छुट्टाछुट्टै समूहगत तयारी समेत थालेका छन् । आकांक्षी कमल तिमिल्सिनालाई संस्थापन पक्षका अधिकांश नेताहरूको समर्थन रहेको स्रोतले जनाएको छ ।

संस्थापन पक्षका नेताहरू राजेन्द्रसिंह रावल, गणेश ठगुन्ना, निरुदेवी पाल, लिला भण्डारी, भैरवबहादुर सिंह, कमला बोहरा, अफिलाल ओखेडा, दामोदर भण्डारी, धर्मराज पाठक लगायत तिमिल्सिनाको पक्षमा देखिएका छन् ।

अर्का आकांक्षी कृष्णप्रसाद जैशीको पक्षमा पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय कमिटी सदस्य ऐन महर लगायत नेताहरू छन् । अर्का आकांक्षी वचनबहादुर सिंहलाई केन्द्रीय सचिव लेखराज भट्टको समर्थन रहेको बताइन्छ ।

सुदूरपश्चिममा विगतमा केन्द्रीय सचिव भट्ट र प्रदेश अध्यक्ष भण्डारी सँगसँगै थिए । त्यसैले चुनाव हुने अवस्था नै देखिएमा आकांक्षी वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता भएर तिमिल्सिनाकै पक्षमा उभिने स्रोतको दाबी छ ।

संस्थापन पक्षका अधिकांश नेताहरू तिमिल्सिनाको पक्षमा भएकाले संस्थापन पक्षको साथ उनैलाई रहेको बताइन्छ । तिमिल्सिना र जैशी दुवै पक्षले गोप्य रूपमा प्यानल नै बताएर चुनावमा जाने तयारी गरिरहेका स्रोतले जनाएको छ ।