काठमाण्डु- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) तिब्बत स्वायत्त क्षेत्रका पार्टी सचिव नेपाल भ्रमणमा आउने भएका छन् । आगामी साता तिब्बत क्षेत्रको पार्टी प्रमुख रहेका वाङ छुङछेङ प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आउन लागेका हुन् ।
वाङ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी बुधबार या बिहीबार काठमाण्डु आइपुग्ने जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणपछि चीनबाट पहिलो उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो ।
प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा तिब्बतमा उनलाई पार्टी सचिव वाङले नै स्वागत गरेका थिए। प्रधानमन्त्री प्रचण्ड र तिब्बत सेक्रेटरी वाङबीच १० असोजमा तिब्बतको राजधानी ल्हासामा भेटवार्ता भएको थियो । भेटवार्तामा नेपाल र चीनबीचका परम्परागत सीमानाकाका पूर्वाधार व्यवस्थापन गर्दै क्रमशः खुला गर्ने सहमति भएको थियो ।
भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। प्रधानमन्त्रीको चीन भ्रमणपछि नेपालबाट प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले चीनको भ्रमण गरेका छन् ।




प्रतिक्रिया