काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटका भूकम्प प्रभावित बस्तीहरुको अनुगमन गरेका छन्। मंगलबार जाजरकोट सदरमुकाम पुगेका राष्ट्रपति पौडेलले अस्पताल पुगेर घाइतेहरुलाई समेत भेटेका हुन्।
घाइतेहरुलाई भेटेपछि राष्ट्रपति पौडेल सदरमुकाम नजिकै भूकम्प प्रभावित बस्तीमा पुगेका थिए। भूकम्पले भत्काएका भग्नावशेषहरु छिचोल्न राष्ट्रपति पौडेलले लौरोको सहारा लिएका थिए।
जाजरकोटका भूकम्पपीडितलाई भेटेर पौडेल रुकुमपश्चिम पुगे । त्यहाँ पनि भूकम्पले भत्काएका भग्नावशेषहरु छिचोल्न राष्ट्रपति पौडेलले लौरोको सहारा लिए । यसैबीच राष्ट्रपति पौडेलले लोकतान्त्रिक राज्य हुनुको अनुभूति जनतालाई गराउन सरकार सक्रिय भएर लागेको दाबी गरेका छन् । उनले भूकम्पपीडितलाई सघाउन सरकार क्रियाशीलरहेको बताए ।
रुकुमपश्चिममका भूकम्पपीडितसँग आज अपराह्न भएको भेटमा राष्ट्रपतिले विपत्तिबाट उत्पन्न परिस्थितिको सामना गर्न राज्य संयन्त्र भूकम्पपीडितको साथमा रहेको बताएका हुन्। उनले पीडितको पुनःस्थापना, उनीहरूको सुविधा सुनिश्चित गर्न सरकारको ध्यान केन्द्रित भएकाले नआत्तिन अनुरोध गरे । राज्यलाई नोक्सानीको सही सूचना दिएर राहत र पुनःनिमाणको कार्यमा सहयोग गर्नसमेत उनले अनुरोध गरेका छन् ।
भूकम्पपीडितसहित जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारीलगायत रहेको भेलामा राष्ट्रपतिले पीडितलाई राहत, अस्थायी आवास र उनीहरूको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिए।
राष्ट्रपति पौडेलसमक्ष प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लामा भएको मानवीय र भौतिक क्षतिको अवस्था र तत्कालको आवश्यकताबारे जानकारी गराएका थिए । उनले जिल्लामा ५२ जनाको मृत्यु भएको र १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षति भएका जानकारी दिएका थिए ।




प्रतिक्रिया