काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।
विपद्का बेला झाडापखाला, हैजा, आउ, निमोनिया, रुघा खोकी तथा टाइफाइड फैलिन सक्ने भएकाले सचेत हुन मन्त्रालयले आग्रह गरेको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा ६४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प प्रभावित क्षेत्रमा घरबाहिर सामूहिक रूपमा बस्दा पानी तथा सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयको आग्रह छ ।
प्राकृतिक जोखिम क्षेत्र तथा विपद्को समयमा पानी तथा सरसफाइको कमीले स्वास्थ्य समस्या आउन सक्ने भएकाले सचेत हुन मन्त्रालयले सूचनामार्फत आग्रह गरेको छ ।
मन्त्रालयले सरुवा रोग लगायत अन्य रोगको प्रकोप फैलिन नदिन लक्लोरीन कोल, ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धीकरण गरी पानी पिउन आग्रह गरेको छ ।
मन्त्रालयले सडेगलेका, बासी र झिँगा भन्केका खाने कुराहरू नखान पनि आग्रह गरेको छ । काँक्रो, गाजर, फलफूल जस्ता काँचै खान मिल्ने खानेकुरा सधैं सफा पानीले धोएर मात्रै खान, खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि सधैं साबुनपानीले मिचिमिची हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ ।
विपद्को समयमा जथाभावी दिसापिसाब गर्दा महामारीजन्य सरुवा रोग सर्ने भएकाले चर्पीमा मात्रै दिसापिसाब गर्न र बच्चाको दिसालाई पनि चर्पीमा नै बिसर्जन गर्न मन्त्रालयले आग्रह गरेको छ ।




प्रतिक्रिया