टिकटक बन्द गरिनु तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्न : सूर्य थापा

टिकटक बन्द गरिनु तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्न : सूर्य थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य थापाले टिकटक बन्द गरिनु तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्न भएको टिप्पणी गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै सांसद थापाले टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को आजको निर्णय खेदजनक रहेको जनाएका छन् ।

‘यसबाट जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड भन्ने नेपाली भनाई व्यवहारतः चरितार्थ गर्न खोजेको प्रष्ट भएको छ । संसारभरि टिकटकले हासिल गरेको लोकप्रियताले नेपाली समाजलाई पनि अत्यन्त छोटो समयमै प्रभावित गरेको छ । नेपाली जनजीवनका बहुआयामिक क्षेत्रमा गहिरो गरी जोडिएर यो वैकल्पिक मिडियाका रूपमा स्थापित छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘टिकटक लगायतका वैकल्पिक सञ्चारका साधनहरूलाई व्यवस्थित गर्नु अत्यावश्यक छ तर यो कार्य मन्त्रिपरिषद्ले स्वेच्छाचारी रूपमा बन्द गर्ने निर्णय गरेर होइन, संसदबाट कानून बनाएर मात्रै गर्नुपर्छ ।’

विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका समयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा संसदमा दर्ता गरिएका ४ वटा विधेयकहरू पारित गर्न भाँजो हालेर कानून बन्न नदिने गैरजिम्मेवार तत्वहरूले संसद्को बर्खे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै गरेको अलोकतान्त्रिक र परिवर्तनको स्वाभाविक गति रोकी तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्नको जति निन्दा गरे पनि कम हुने उनले बताएका छन् ।

‘टिकटक, फेसबूक लगायतका सामाजिक सञ्जालहरूलाई कानून बमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन जोडदार माग गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ, ‘म प्रचण्डपथको प्रेत बोकेर बन्द समाजतर्फ उन्मुख हुँदै धुन्धुकारी बाटोमा अघि बढेको सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउन चाहन्छु ।’