काठमाण्डु – काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को शीर्षस्थानमा उक्लिएको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमाण्डु अंकतालिकाको पहिलो स्थानमा पुगेको हो ।
काठमाण्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५५ रन बनाए । उनले ३५ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै डान माउस्लीले २९, कमिल मिश्राले २८ र अर्जुन साउदले २३ रन बनाए । काठमाण्डुका बलरले चितवनलाई लक्ष्यसम्म पुग्न दिएनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो ।
यस जीतसँगै काठमाण्डुले ५ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगितामा काठमाण्डुको यो चौथो जीत हो। उसले यसअघि कर्णाली याक्स, विराटनगर किंग्स र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । काठमाण्डु जनकपुर बोल्ट्ससँग भने पराजित भएको थियो ।
अंकतालिकामा ७ अंकसहित लुम्बिनी लायन्स दोस्रो र ६ अंकसहित सुदूरपश्चिम रोयल्स तेस्रो स्थानमा छन् । ५ अंक जोडेको चितवन चौथो स्थानमा छ ।
त्यस्तै जनकपुर बोल्ट्स, विराटनगर किंग्स र कर्णाली याक्सको समान ४ अंक छ भने पोखरा एभेन्जर्स २ अंकसहित तालिकाको पुछारमा छ ।


प्रतिक्रिया