बैतडी – जिल्लामा आज मंगलबार २ जना मृत फेला परेका छन् ।
मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा र डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन् ।
सोमबार दिउँसो गाउँकोटमा कपडा सिलाउन जान्छु भनी हिँडेका ओझा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
मेलौली नगरपालिका–७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करीब ५ मिटर तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ । ओझा अपाङ्गता भएका व्यक्ति रहेको बुझिएको छ । ओझाको मृत्युको कारण भने खुलेको छैन ।
घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनी हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २०० मिटर तल खसी मृत अवस्थामा फेला परेका हुन् । ऐरको शव आज बिहान फेला परेको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया