पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयतालाई बलियो बनाउन ऐन, कानून निर्माणमा ढिलाइ भए संघीयता ठीक भएन भन्ने आवाज आउनसक्ने बताएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु मुख्यमन्त्री पाण्डेले प्रहरी समायोजन ऐनको कार्यान्वयन, जग्गा प्राप्ति र संघीय निजामती कर्मचारी ऐन भएमा जनतालाई कामबाट जवाफ दिन सकिने बताए ।
अहिले संघीयता ठीक भएन भनेर प्रश्न उठिरहेको बताउँदै उनले भने, ‘तर ती कुरा भएनन् भने कुनै दिन यस्तो पनि आउन सक्छ, हाम्रै मुखबाट त्यो आवाज आउने । त्यसैले म समयमा नै प्रधानमन्त्रीजीलाई यो बारेमा पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डको पालामा केही सहजीकरण भयो भने संघीयतालाई कार्यान्वयन गर्न सक्ने उनले बताए । ‘किनकि उहाँले यो संघीयताको लागि लडेको हो । मैले नेपाली कांग्रेस पार्टीको केन्द्रीय बैठकमा पनि भनेको छु, यो संघीयता केबल संविधानमा लेखेको कारणले हामी मानिराखेका छौं कि हामीले कार्यान्वयन गर्न मानिराखेका छौं ?’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनमा कुर्बानी गरेकाले केही आशा रहेको मुख्यमन्त्री पाण्डेले बताए । संघीयताप्रति प्रहार हुन सक्ने भएकाले कार्यान्वयनमा चुक्न नहुने उनले बताए । ‘हामीले ठूलो बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका हौं । अहिले प्रश्न गर्नलाई सजिलो छ तर संघीय लोकतन्त्र गणतन्त्र स्थापना गर्नका लागि यो मुलुकमा २०औं हजार मान्छेले कुर्बानी गरेका छन्,’ उनले भने, ‘लाखौं मान्छेले स्याक्रिफाइज गरेका छन् । जीवनका उर्बर समयहरू यसमा व्यतित गराएका छन् । हामीले ल्याएको यो संघीयता कसैलाई मन परेको छैन । कसैलाई धर्म निरपक्षेता मन परेको छैन । कसैलाई गणतन्त्र, कसैलाई समावेशिता मन परेको छैन ।’




प्रतिक्रिया