माओवादीसँग पार्टी एकता गर्न बाबुराम भट्टराई तयार

माओवादीसँग पार्टी एकता गर्न बाबुराम भट्टराई तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अगाडि बढेको छ । बाबुराम भट्टराई फेरि माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका हुन् ।

जसअनुसार सोमबारटोखामा बसेको बैठकमा भट्टराई आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न तयार भएका हुन् । त्यस्तै एकतापछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने सहमति भएको छ ।

बैठकमा अध्यक्ष भट्टराईसहित अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी थिए । आइतवार पार्टी एकता गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच छलफल भएको थियो।

माओवादीका वार्ता समिति संयोजक कृष्णबहादुर महरा र समाजवादीका वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठलगायतबीच आइतबार भएको बैठकमा पार्टी एकताको लागि दुवै पार्टीलाई एकता संयोजक समिति गठन गर्न सुझाव दिनेबारे छलफल भएको थियो ।

‘दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख थियो।

२०७२ सालमा माओवादी छाडेका बाबुराम ८ वर्षपछि फेरि पुष्पकमल दाहाल प्रचण्डसँगै सहकार्य गर्न तयार भएका छन् ।