काठमाण्डु – राजधानी काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै भोलि बिहीबार सवारीसाधन लिएर निस्किन आग्रह गरेको छ ।
काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा मंसिर ७ गते प्रदर्शन कार्यक्रम हुन लागेको भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम भए मात्र सवारीसाधन प्रयोग गर्न आग्रह गरेको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार काठमाण्डुमा प्रदर्शन गर्न लागेका छन् । प्रदर्शनका कारण काठमाण्डुको ट्राफिक व्यवस्थापनमा असर पर्ने भन्दै ट्राफिक प्रहरीले सूचना जारी गरेको छ ।
सूचनामा भनिएको छ, ‘काठमाण्डु उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्किन हुन र सडकमा निस्किनुभन्दा पहिले १०० वा १०३ मा फोन गर्नहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ ।’
सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जुनसुकै ठाउँबाट पनि सवारीसाधन डाइभर्ट गर्न सक्ने ट्राफिक प्रहरी कार्यालयले सूचनामार्फत जनाएको छ ।




प्रतिक्रिया