काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताहरूले गरेका गल्तीमा जनतासँग हजारपल्ट माफी माग्नुपर्ने बताएका छन् ।
नवलपुरमा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह गरे ।
उनले भने, ‘वरिपरिका केही कुरा देखेका छौं । नागरिकमा तीव्र असन्तुष्टि या अलमल छ । कोही किसानलाई भेटें भने रिसाएको देखिन्छ, रिसाउनुपर्ने कारण पनि छ, जुन शहरमा पनि सटर छाडेर भागेको अवस्था छ । सहकारीको ऋण तिर्न सकेको छैन । नेपाल पहिला कसले छाड्ने भन्नेमा तछाडमछाड गरिरहेको जस्तो लाग्छ । छटपटाहट देखिन्छ । अब लुकाएर हुँदैन । यसको बारेमा चर्चा र चिन्तन गर्नैपर्ने हुन्छ ।’
पीडामा भएका आममानिसलाई भड्काउने काम भइरहेको उनले बताए । उनले भने, ‘यसलाई संगठित गरेर दुरुपयोग गर्ने प्रयास हुनेछ । २०५९ असोज १८ गते तत्कालीन राजाले आफ्नो शासन हातमा लिनुभयो । लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउनुभयो, त्यसबेला पनि काठमाण्डुमा दीपावली भएको थियो । ठीक गर्नुभयो महाराज ! यिनको चरित्र र व्यवहारले दुःख पाएका थियौं भनेका थिए । त्यही भन्ने मान्छे २०६२ चैतमा गणतन्त्र जिन्दावाद भन्दै सडकमा आयो । यसको उत्तर नखोजिकन जिम्मेवार कार्यकर्ताले गलत कुरा गर्न मिल्दैन । यसलाई पर्गेल्न चिन्तन गर्नुपर्छ ।’
पार्टीका नेताहरूले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाइएको उनले बताए । उनले भने, ‘हामीले गल्ती गरेका छौं, हजारपटक जनतासँग माफी माग्नुपर्छ, २०५१ मा मध्यावधिमा नगएको भए माओवादी आउँदैनथ्यो । माओवादीको कारणले देशको १५ वर्ष खेर गएको छ । अनावश्यक युद्ध भयो । यही व्यवस्थामा आउनु थियो भने युद्ध किन ? हामीले २०५६ मा बहुमत पायौं, थेग्न सकेनौं । छलफल गर्नुपर्छ । कसैलाई दोष दिएर हुँदैन । हामीले गरेको गल्तीको भारी बोक्न तयार हुनुपर्छ । हामीले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउन खोज्यौं ।’
गल्ती व्यक्ति र पात्रले गरेको बताउँदै व्यवस्था र आस्थालाई दोष लगाउन खोजिएको उनले बताए ।




प्रतिक्रिया