काठमाण्डु – सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा गर्ने निर्णय विरुद्धको निवेदनमा राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहीबार कारण देखाउ आदेश दिएको हो ।
शारदा कडायत, मन्धरादेवी विष्ट लगायतले गत कात्तिक २१ गते रिट निवेदन दिएका थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी लगायत गत असोज ३ गते रिहा भएका थिए ।
२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र १ दूधे बालकको ज्यान जाने गरी भएको हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते छुटेका थिए । संविधान दिवसमा थप कैदीको कैद मिनाहा गरिएको थियो ।
रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कडायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रेशम चौधरी विरुद्धको मुद्दा सर्वाेच्चमा विचाराधीन छ ।




प्रतिक्रिया