काठमाण्डु – काठमाण्डु महानगरपालिकाकी उपप्रमुख (उपमेयर) सुनिता डंगोल आज शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेकी छन् ।
अस्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयको निमन्त्रणामा उनी सिंगापुर एयरलाइन्सको विमानबाट प्रस्थान गरेकी हुन् ।
भ्रमणका लागि उनलाई गत वैशाख १८ गते निमन्त्रणा प्राप्त भएको थियो । भ्रमणका क्रममा अस्ट्रेलियाका विभिन्न शहरमा रहेका खनिज तथा ऊर्जा, कृषि, पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरूको अवलोकन, परम्परागत संस्कृति, शहरी विकास, नविकरणीय ऊर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।
भ्रमणबारे जानकारी दिँदै उपप्रमुख डंगोलले भनिन्, ‘सिड्नी, क्यानवेरा होर्बट र मेलवर्न लगायत शहरका शहरी तथा शासन व्यवस्थापनसँग सम्बन्धित पदाधिकारीहरूसँग भेटघाटका कार्यक्रम पनि छन् । यस अवसरमा अस्ट्रेलियामा रहेका नेपालीहरूसँग अन्तर्क्रिया गर्ने, संसद् भवनको अवलोकन गर्ने कार्यक्रम पनि छ ।’
भ्रमण सकेर उपप्रमुख मंसिर १७ गते स्वदेश फर्किने जनाइएको छ ।
२०८० साउन ३२ गते बसेको काठमाण्डु महानगरपालिकाको २१औं नगर कार्यपालिका बैठकले उपप्रमुखको भ्रमण स्वीकृत गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कात्तिक २३ गतेको मन्त्रिस्तरीय निर्णयबाट भ्रमण स्वीकृत भएको छ ।
भ्रमण अवधिको खर्च अस्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयले गर्ने महानगरले जनाएको छ ।




प्रतिक्रिया