काठमाण्डु – सडक प्रदर्शन गरिरहेका व्यवसायी दुर्गा प्रसाईले काठमाण्डु महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’लाई कार्यकारी प्रधानमन्त्री बन्न ‘अफर’ गरेका छन् ।
शनिवार काठमाण्डुको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यकारी प्रधानमन्त्री बन्नका लागि आन्दोलनमा साथ दिन आग्रह गरे ।
उनले भने, ‘बालेनजीलाई पनि फेसबूकमा मात्र लेख्ने होइन, दुर्गा प्रसाईंसँग आएर उभिनुस् मुलुक बनाउने हो भने । तपाईंलाई मन पराए भने कार्यकारी प्रधानमन्त्री बन्नुस् मलाई चाहिँदैन । आउनुस्, पहिला यी महिलाका आँखाका आँसु पुछौं । तपाईं पनि सिराहा सप्तरीतिरको हो, यी महिला पनि त्यतैका हुन् ।’
काठमाण्डुमा गरिएको आन्दोलनले गणतन्त्रको जग हल्लाइदिएकाले हिजो नजरबन्दमा राखिएको उनले बताए । ‘मलाई हिजो सरकारले आङसाङ सुकीलाई जस्तो त्यो के रे (नजरबन्द) मा राख्यो, साँझ आएर सुरक्षाका लागि भन्यो,’ उनले भने, ‘मिडियाका १२ भाइहरूले हाम्रो आन्दोलनलाई सहयोग गरेनन् तर पनि यूट्युबका साथीहरूले गर्दा जनताले थाहा पाएका छन् ।’
तीनकुनेमा प्रदर्शन गर्न खोजे पनि प्रशासकले रोक लगाएपछि उनको नेतृत्वमा पशुपति मन्दिर नजिकको सिफल चौरमा आन्दोलन भएको छ ।




प्रतिक्रिया