काठमाण्डु – भारतको उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन सहमति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता छैन, उक्त भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ ।’
कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति आपत्ति समेत जनाएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘समग्र हिन्दूहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चारमाध्यममा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ ।’
भ्रामक समाचारका कारण हिन्दू धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिकजनप्रति पारिएको आघात पुगेको भन्दै कोषले भारतको उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा कुनै स्वीकृति, सहमति र निर्णय नभएको कोषले जनाएको छ ।




प्रतिक्रिया