काठमाण्डु – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी टाउन प्लानिङमा युवराज अधिकारीको घरमा कोही नभएको मौका दिउँसै घुसेर ३७ लाखको धनमाल चोरी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
घरको मूल ढोका फुटाएर भित्र प्रवेश गरी कोठामा रहेका सुन र हिराका विभिन्न गरगहना, मोबाइल तथा नगदसहित अन्दाजी ३७ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी लगेको आरोपमा प्रहरीले २० वर्षीय विक्रम नेपालीलाई पक्राउ गरेको हो ।
काभ्रेको तिमाल गाउँपालिका–७ घर भई हाल पेप्सिकोला बस्ने २० वर्षीय विक्रम नेपालीलाई जडिबुटीबाट पक्राउ गरी चोरी गरी लगेका सुन, चाँदी, हिराका विभिन्न गरगहनासहित बरामद गरेर थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।
प्रहरीले सुनको मंगलसुत्र २ थान, सुनको चुरा ३ थान, हिराको चुरा १ थान, हिराको नेक्लेस १ थान, सुनको सिक्री २ थान, हिराको टप १ जोर, सुनको मुन्द्रा १ जोर, हिराको लकेट १ थान, सुनको औठी १ थान, सुनको झुम्का १ जोरा, सुनको टप १ जोर, मोबाइल २ थान, घडी २ थान बरामद गरेको प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।






प्रतिक्रिया