पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहिले देखिएको ओरालो लाग्दो अवस्था सुधार्न एमालेको बहुमतको सरकार आवश्यक परेको बताएका छन् ।
एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’को नवौं दिनमा पोखरा महानगरपालिका–२७ तालचोकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेलाई बहुमत दिन अपिल गरे ।
अहिले सम्पूर्ण शक्ति एकातिर लागेर गठबन्धनमार्फत सरकार सञ्चालन गरे पनि एमालेको मात्र विरोध गर्ने गरेको ओलीको आरोप छ । वर्तमान सरकारले विकास निर्माण र जनताका सरोकारमा कुनै ध्यान दिन नसकेको उनले ठोकुवा गरे । एमालेको सरकारको पालामा जनतामा आशाको सञ्चार जागृत गराएको भन्दै उनले एमालेबाहेक अरु कसैले देश बनाउन नसक्ने बताए ।
‘एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन, यो त स्पष्ट भइसक्यो, भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ, हामीबाहेक सबै एकजुट भएर लागेकै छन्, उनीहरूको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो, विकास निर्माण होइन, जनतासँग सरोकार छैन, राष्ट्रियताको पक्षमा उनीहरू शिर निउर्याउँछन्,’ उनले भने ।
अहिले देखिएको अवस्थामा सुधार ल्याउनका लागि एमालेको एकल बहुमत आवश्यक पर्ने भएकाले एमालेले मिसन ८४ अगाडि बढाएको उनले बताए । एमालेको एकल बहुमतको सरकार बनेमा ओरालो लाग्दोे अवस्थामा रहेको देशको सम्पूर्ण क्षेत्रलाई रोकेर सकारात्मक दिशामा अगाडि बढाउदै नयाँ आशाको सञ्चार गराउने उनले बताए ।
‘मिसन ८४ किन अगाडि बढाइयो भन्दा समृद्ध नेपाली सुखी नेपाली बनाउनका लागि हो, देशको सम्पूर्ण क्षेत्रको अहिलेको दयनीय तथा ओरालो लाग्दो अवस्थालाई रोकेर फेरि सकारात्मक दिशामा फर्काउनका लागि एमालेको एकल बहुमत आवश्यक छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको छ,’ उनले भने ।
एमालेले निर्माण गर्न खोजेको गन्तव्यमा पुर्याउन सबै जनता सचेत, संगठित र आन्दोलित हुनुपर्ने उनले बताए ।
अहिलेको सरकार र सरकारमा हुने पार्टीबाट देश निर्माण गर्ने काम पूरा नहुने उनको ठोकुवा छ । एमालेलाई एकल बहुमतको सरकार निर्माण गर्ने प्रयासको थालनीको रूपमा संकल्प यात्रालाई अगाडि बढाइएको उनले बताए ।
‘अहिले जनतासँग भेटघाट गर्ने, पाटीपंक्ति जनताबीच जाओस्, जनताका बीचमा पुगोस्, सचेत संगठित गराओस्, आन्दोलित गराओस् राजनीति मात्र होइन अब विकास निर्माण र जनताका जीविकाका सवालमा पनि पार्टीले नेतृत्व गरोस् भन्ने सन्देश जनता र पार्टीपंक्ति दुवैमा दिनका लागि हो,’ उनले भने ।
संकल्प यात्रा निकै महत्त्वपूर्ण बनेको उनले बताए । यात्राका क्रममा भेटघाटमार्फत समस्या बुझ्ने, सुन्ने, मागहरू संकलन गर्ने मात्र नभएर तिनको समाधान कसरी गर्ने भनेर चिन्तन, मनन्, छलफल गर्ने गरेको समेत बताए । यात्राका क्रममा देखेका, भोगेका, सुनेका, भनेका सबै विषय काठमाण्डु पुगेपछि सम्बोधन गरिने ओलीले बताए ।
कतिपय जनताले १ वा २ शब्दमा आफूसँग गुनासो राख्ने गरेको भन्दै त्यस्ता सबै गुनासो नोट गरेर राखेको समेत बताए ।
सम्बोधनका क्रममा पोखराको सुन्दरतासँगै कला, साहित्य, संगीतको विषयमा समेत उनले चर्चा गरे । पोखरालाई नेपालको पर्यटकीय राजधानी समेत भन्ने गरिएको भन्दै उनले मुग्लिन–पोखरा सडकखण्डमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरे ।
कुनै समय पोखरा सुन्तलाको लागि प्रसिद्ध रहेको बताउँदै उनले यहाँका फाँटमा फल्ने जेठोबुढो धानको समेत प्रशंसा गरे ।





प्रतिक्रिया