काठमाण्डु – भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमार पटक–पटक राज्यको सत्तामा रहँदै आएका छन् । कुनै बेला भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर होस् वा कुनै बेला लालू यादवको पार्टीसँग मिलेर होस् । उनी सधैं सत्तामा रहे ।
बिहारबाटै उदाएका नेताद्वय नीतीश कुमार र लालू यादव राष्ट्रिय राजनीतिमा पनि दख्खल राख्छन् । क्षेत्रफलका हिसाबले पनि तुलनात्मक रूपमा बिहारले संसदीय राजनीतिमा प्रभाव राख्छ । बिहारमा जबर्जस्त प्रभाव राख्ने नेताद्वय नीतीश र लालू यतिबेला सत्ता सहकार्यमा छन् ।
बिहारको राजनीति अनुकूल भएका बेला मुख्यमन्त्री नीतीश दिल्लीको राजनीतिमा कब्जा जमाउने मिसनमा लम्किन थालेको देखिएको छ । भारतमा सन् २०२४ मा लोकसभा चुनाव हुँदैछ । चुनावमा सत्तारुढ भाजपा गठबन्धन र विपक्षी गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । भाजपा प्रधानमन्त्री नरेन्द्र मोदीकै नेतृत्वमा चुनावी मैदानमा उत्रिनेछ तर विपक्षी गठबन्धनको मुख्य नेता को हो ? यकिन हुन सकेको छैन ।
विपक्षी गठबन्धनको नेता को बन्ला भन्ने कौतुहलताबीच मुख्यमन्त्री नीतीशले प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र वाराणसीमा र्याली गर्ने तयारी थालेका छन् । वाराणसीबाट प्रधानमन्त्री मोदी सन् २०१४ र २०१९ मा लोकसभा चुनाव जितेका हुन् । नीतीश सहभागी हुने गरी वाराणसीमा २८ डिसेम्बर र २१ जनवरीमा झारखण्डको हजारीबागमा हुनेछ । बिहारसँग सीमा जोडिएको उत्तर प्रदेशको वाराणसी र झारखण्डको हजारीबागमा नीतीशले र्याली गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नीतीशले वाराणसी र हजारीबागमा र्याली गरेर आफू बिहारबाट निस्किएर दिल्लीको सत्तातिर जाने सन्देश दिन खोजेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विपक्षी दलभित्र कांग्रेस कमजोर !
हालै मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भएको विधानसभा चुनावमा कांग्रेस नराम्ररी पराजित भएपछि विपक्षी गठबन्धनभित्र भारतीय कांग्रेस कमजोर परेको छ । यी विधानसभा चुनावमा कांग्रेसले गम्भीर गल्ती गरेको अन्य दलहरूको आरोप छ । विधानसभा चुनावमै विपक्षी गठबन्धन एकजुट भएर लोकसभा चुनाव २०२४ को जग निर्माण गर्नुपर्नेमा कांग्रेस एक्लै मैदानमा उत्रिएर हार व्यहोरोले आरोप छ । मध्यप्रदेश चुनावमा आत्मघाती आत्मविश्वासका कारण कांग्रेसले अन्य दललाई महत्त्व नै दिएन, अन्य दलले राखेको गठबन्धनको प्रस्तावलाई पनि कांग्रेसले अस्वीकार गरेर सबै सिटमा एक्लै उम्मेदवार उठाएको थियो ।
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसहित अन्य दलका नेताले कांग्रेससँग गठबन्धनको प्रस्ताव राखेका थिए । तर कांग्रेस नेतृत्वले विपक्षी गठबन्धनका सहयात्री दललाई नै बेवास्ता गर्यो । सहयात्री दलका लागि कांग्रेसले १–२ सिट पनि छाड्न सकेन । यस्तो ताजा अवस्थाबीच विपक्षी गठबन्धनमा कांग्रेसको स्वीकार्यता घटेको देखिएको छ ।
यसै परिस्थितिमा १७ डिसेम्बरमा विपक्षी गठबन्धनको बैठक बस्दैछ । बैठकमा सहयात्री दलहरूले कांग्रेसप्रति तीव्र असन्तुष्टि पोख्ने अनुमान गरिँदैछ । कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई टक्कर दिनसक्ने छवि बनाउन नसकेको चर्चा पनि हुने गरेको छ ।
बिहारबाट बाहिरिने अनुकूल मौका
मुख्यमन्त्री नीतीशले बिहारमा लामो समय सत्ता चलाइसकेका छन् । बिहारको सत्ता गठबन्धनभित्र लालू यादवले छोरा तेजस्वी यादवलाई मुख्यमन्त्री बनाउन चाहेका छन् । तेजस्वी हाल उपमुख्यमन्त्री छन् ।
बिहारमा तेजस्वीलाई मुख्यमन्त्री बनाउनका लागि पनि नीतीशलाई बिहारबाट बाहिर निकाल्नुपर्ने बाध्यतामा लालू छन् । नीतीश बिहारकै राजनीतिमा सक्रिय रहे तेजस्वी मुख्यमन्त्री बन्न सक्ने छैनन् । त्यसैले बिहारका प्रभावशाली नेता लालूले नीतीशलाई विपक्षी गठबन्धनको नेता बनाएर दिल्लीतिर लम्किन सहयोग गर्ने भारतीय सञ्चारमाध्यमको विश्लेषण छ ।




प्रतिक्रिया