काठमाण्डु – केही स्थानका सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखिएको काठमाण्डु महानगरपालिका पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले बताएका छन् ।
समुदायमा रहेका कुकुरमा समस्या देखिएपछि स्थानीयबाट आएको सूचनाका आधारमा परीक्षण गर्दा रोग थाहा भएको उनले बताए । कुकुरमा हुने डिस्टेम्पर रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ । कुकुरबाट मान्छेमा सर्दैन ।
‘यो कुकुरहरूका लागि प्राणघातक रोग हो । लक्षण देखिएपछि रोकथामका कार्यक्रम थालेका छौं,’ डा. झा भन्छन्, ‘रोग लागेका कुकुरहरूलाई ज्वरो आउँछ । खाना नखाने, झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । खोक्ने, वान्ता गर्ने, दिशा पातलो गर्ने, छारे रोग जस्तो लक्षण देखाउने, लडवडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यो रोगका मुख्य लक्षण हुन् ।’
रोग लागेका कुकुरबारे जानकारी आएपछि उपचार र व्यवस्थापनको काम थालिसकिएको विभागले जनाएको छ ।
सामुदायिक कुकुरमा यस्ता समस्या देखिए महानगरपालिकाको निःशुल्क टेलिफोन नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा सूचना दिन विभागले अनुरोध गरेको छ ।
कुकुरबाट कुकुरमा सर्ने भएकाले रोग फैलिएका ठाउँमा घरपालुवा कुकुर बाहिर नलैजान र कुकुरहरूलाई रोग विरुद्धको खोप अनिवार्य लगाउन विभागले अनुरोध गरेको छ ।




प्रतिक्रिया