काठमाण्डु – संविधानमा ‘धर्मनिरपेक्षता’ राखिएकोमा नेपाली कांग्रेसभित्र असन्तुष्ट रहेका हिन्दूराष्ट्र पक्षधर नेताहरू सल्बलाउन थालेका छन् ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्नुअघि बुधबार हिन्दूराष्ट्र पक्षधर नेताहरू एकजुट भई छलफल गरेका छन् । कार्यसम्पादन समिति बैठकले महासमिति बैठकका एजेन्डा तय गर्नसक्ने भएकाले नेताहरूले हिन्दूराष्ट्रको विषयलाई एजेन्डामा प्रवेश गराउन लबिङ थालेका छन् ।
बुधबार पानीपोखरीमा रहेको केन्द्रीय सदस्य शंकर भण्डारीको सम्पर्क कार्यालयमा हिन्दूराष्ट्र पक्षधर नेताहरूको बैठक बसेको छ । बैठकमा देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, गेहेन्द्र गिरी, चन्द्र केसी लगायतका केन्द्रीय सदस्य सहभागी थिए ।
बैठकमा वैदिक हिन्दूराष्ट्र स्थापनाको एजेण्डालाई पार्टीभित्र सशक्त ढंगले उठाउने विषयमा छलफल भएको छ । अघिल्लो कार्यकालको महासमिति बैठकका बेला पनि हिन्दूराष्ट्रको चर्चा भए पनि औपचारिक एजेन्डा प्रवेश पाउन सकेको थिएन ।
प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल कांग्रेसभित्र हिन्दूराष्ट्रबारे छलफल हुनुलाई अर्थपूर्ण रूपमा हेरिँदैछ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दूराष्ट्रको एजेन्डा उठाउँदै आएको छ ।




प्रतिक्रिया