विदेश पठाउन ‘भिजिट भिसा’मा कीर्ते ! घुस लिने ३ कर्मचारीको पर्दाफास, थुप्रै पक्राउ

विदेश पठाउन ‘भिजिट भिसा’मा कीर्ते ! घुस लिने ३ कर्मचारीको पर्दाफास, थुप्रै पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ३ कर्मचारीसहित ३२ जनालाई पक्राउ गरेको छ ।

ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

आज पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत अरविन्द यादव र अध्यागमन विभागमा कार्यरत अधिकृत नरवीर खड्का रहेका काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । उनका अनुसार पक्राउ परेका अधिकृतहरूले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ (घुस) लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यसअघि सोही आरोपमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । उनले भने, ‘त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले संकलन गरेर पठाएका १ हजार ३२ थान भिसा सहितका कागजातबाट अनुसन्धान गर्दा गिरोहले पर्यटक भिसाका लागि फर्जी कागजात बनाई विदेश पठाउने गरेको भेटिएको हो ।’

प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्व प्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य ११ जना रहेका काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ९ जनामाथि संगठित अपराधमा र १२ जनामाथि लिखतसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । यसअघि ८ जना भने धरौटीमा छुटिसकेका छन् ।

ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन् ।

कागजात मिलाएबापत ट्राभल एजेन्सीहरूले प्रतिव्यक्ति १५ हजार लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरूको हकमा भने ४० हजार घुस लिने गरेको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता रेग्मीले बताए ।