बुटवल – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदा मुलुकले दुःख पाइरहेको बताएका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगर कमिटीको शनिबार भैरहवामा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा रुमल्लिएको मुलुक कहिल्यै माथि नजाने बताए ।
भ्रष्टाचारले रोजगारी सिर्जना हुन नदिने उनले बताए । ‘जहाँ भ्रष्टाचार छ, त्यो मुलुकमा रोजगारी सिर्जना हुँदैन, त्यो मुलुकमा स्थिरता, नियम र कानून केही लागू हुँदैन । उद्योग, व्यवसाय, कृषि र उत्पादन क्षेत्रको विकास हुन दिँदैन,’ उनले भने ।
पूर्व कृषिमन्त्री समेत रहेका नेता भुसालले सही नेतृत्व र विचार भएको पार्टी आवश्यक रहेको बताए । उनले भने, ‘विचारको हिसाबले हामी ठीक ठाउँमा छौं । अब एउटा कमी छ, नेकपा एकीकृत समाजवादीलाई ठूलो पार्टी बनाउनुपर्छ । आमजनताको बीचमा हामीले देशका लागि के सोचेका छौं, त्यो बताउनुपर्छ । पार्टीको राजनीतिक एजेन्डा दुनियाँसामु ल्याउनेछौं ।’




प्रतिक्रिया