आन्दोलनमा जाने राप्रपाको निर्णय, सरकारमा सहभागी हुने ‘च्याप्टर क्लोज’

आन्दोलनमा जाने राप्रपाको निर्णय, सरकारमा सहभागी हुने ‘च्याप्टर क्लोज’


काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनमा जाने निर्णय गरेको छ । मंगलबार बिहान बसेको राप्रपाको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो । उक्त निर्णय केन्द्रीय समितिबाट अनुमोदन गरेर सार्वजनिक गरिनेछ ।

यसभन्दा अघि राजधानीमा सुरू भएको केन्द्रीय समिति बैठकमा आफ्नो समसामयिक प्रस्ताव पेस गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक संघर्षमा जानुको विकल्प नभएको बताएका थिए ।

समान विचार भएकाहरूसँग एकता, सहकार्य आवश्यक भएको भन्दै लिङ्देनले त्यो सम्भव रहेको उनको भनाइ थियो । ‘आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जन दबाब सिर्जना गरौँ’, गत आइतबार बसेको बैठकमा लिङ्देनले भनेका थिए, ‘ राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ।’

यसैबीच आज बसेको राप्रपाको बैठकले अध्यक्ष लिङ्देनको प्रस्तावमा सडक आन्दोनमा उत्रिने निर्णय गरेको हो । त्यस्तै आन्दोलनमा जाने निर्णय गरेसँगै राप्रपा प्रदेश र संघीय सरकारमा सहभागी हुने ‘च्याप्टर क्लोज’ भएकाे छ ।

राप्रपाभित्र सरकारको सहभागिताबारे २ लाइन रहँदै आएको छ। अध्यक्ष लिङ्देन सरकारमा सहभागिताको विषयमा सफ्ट लाइनमा हुँदा महामन्त्री धवल शमशेर राणा भने आन्दोलनको पक्षमा खत्रो उत्रिँदै आएका थिए। तर मंगलबारको पदाधिकारी वैठकले सर्वसम्मत रुपमा निर्णय गरेको हो।

कोशी प्रदेशमा राप्रपा सरकारमा सहभागी हुन चर्चा चल्दै आएको थियो। त्यस्तै कोशी सरकार टिकाउन संघमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई सरकारमा ल्याउने कसरत गरेका थिए ।