काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा लागेका छन् । आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको १ वर्ष पूरा हुनुअघि नै मन्त्री हेरफेर गर्न लागेका हुन् ।
१ वर्षसम्म पनी केही मन्त्रीहरुले सन्तोषजनक काम गर्न नसकेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते अगाडि नै नयाँलाई मन्त्री बनाउन लागेका छन् । दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीबाट गर्ने प्रचण्डको चाहना छ ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले आगामी पुस १० गतेसम्म मन्त्रीहरुलाई अनिवार्य बाहेक उपत्यका बाहिर जाने कार्यक्रम नबनाउन निर्देशन दिएका छन् । सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा प्रधानमन्त्री प्रचण्डले अबको १ वर्ष फरक ढंगले काम गर्न चाहेको बताएका थिए।
‘एक वर्षपछि अर्को ढङ्गले काम गर्न चाहन्छु। प्रदेश र स्थानीय तहलाई बलियो बनाउनका लागि मैले फरक ढङ्गले काम गर्न लागेको छु।’, उनले उक्त कार्यक्रममा भनेका थिए ।
प्रधानमन्त्री प्रचण्डले १० गते मंगलबार विशेष सम्बोधन गर्ने तयारी गरेका छन्। त्यसअघि नै उनले आफ्नो दोस्रो वर्षको कार्यकाल पहिलो वर्ष जस्तो नहुने सन्देश दिइसकेका छन् । सत्तारुढ कांग्रेसले गृहमन्त्री र माओवादीले अर्थमन्त्रीको आलोचना गर्दै आएका छन् । दुवै पार्टीका नेताहरूले ती दुवै मन्त्री हेरफेरको प्रस्ताव गरेका थिए ।




प्रतिक्रिया