काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी हिनामिना प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति गुनासो गरेका छन् । बुधवार सामाजिक सञ्जालमार्फत सहारा चितवन सहकारीको ८५ करोड हिनामिना भएको विषयमा आफू अझै ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयरवाला रहेको जसरी भ्रम छर्न खोजिएको बताएका हुन् ।
भ्रमलाई सत्यका रुपमा स्थापित गर्न सेयर लगतको पुरानो २०७८।६।२३ को विवरण राखिएको उनको दाबी छ । लामिछालेले आफूले ग्यालेक्सी टीभी छोड्ने बेलैमा आफूलाई दिएको (पैसा लगानी नगरी) सेयर सबै ट्रान्सफर गरेको स्पष्ट गरेका छन् ।
उनले सेयर लगतको नयाँ कागजातमा आफू सेयरवाला नभएको स्पष्ट देखिने भन्दै त्यससम्बन्धी प्रमाण पनि पेश गरेका छन् । ‘मैले सार्वजनिक जानकारी दिइसकेको मात्र होइन, कानूनी रूपमै अलग भइसकेको कम्पनीसँग सम्बन्धित पुरानो कागजात भजाएर कान्तिपुरले के स्थापित गर्न खोजिरहेको छ, मैले बुझ्न सकेको छैन । कुनै कम्पनीमा सञ्चालक रहेको व्यक्तिले वैधानिक रूपमै छोडेपछि पनि त्यो कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्ने हुन्छ र ?’, रविले भनेका छन् ।
त्यस्तै उनले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् । ‘यहाँ मेरो एउटा प्रश्न चाहिँ छ- मदिराको विज्ञापन गर्न हुँदैन भन्ने कानूनी व्यवस्था सञ्चारमाध्यमलाई थाहा छ कि छैन ? छ भने २०७५ सालमै बनेको यस्तो व्यवस्थाको वर्षौँसम्म किन बर्खिलाप गरी मदिराको विज्ञापन गरी नै रहे ? कानुन त तिनी पनि बुझ्थे-बुझ्छन् होला ? मैले कानुन जान्नु-बुझ्नुपर्छ भन्ने कुनै सञ्चारमाध्यम वा पत्रकारलाई लाग्छ भने उसले पनि जान्नु–बुझ्नुपर्छ कि पर्दैन ?’, उनको प्रश्न छ ।




प्रतिक्रिया