नेकपाको उत्तराधिकारी हामी हौँः माधव नेपाल

नेकपाको उत्तराधिकारी हामी हौँः माधव नेपाल


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी आफूहरू भएको बताएका छन् ।

बुधवार ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीको वास्तविक उत्तराधिकारी भएकाले आफूहरूले १० औं महाधिवेशन गर्न लागेको बताएका हुन् ।

‘२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी हामी हौँ । हामीले आफ्नै जीवनकालमा भइरहेको पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको थियो । पुष्पलालले पनि तत्कालीन अवस्थामा नेकपाबाट विद्रोह गर्नुभएको थियो ।’, उनले भने । नेता नेपालले २ वर्षअघि एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।

‘हामी नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशन आयोजना गर्ने बिन्दुमा उभिएका छौं । हामीले १० औं महाधिवेशन किन भनिरहेका छौं भने नेपाल कम्युनिष्ट पार्टी जुन २००६ सालमा स्थापना भएको हो । त्यसको उत्तराधिकारी हौं । विभिन्न बेलामा यस्ता समय आएका छन् जतिबेला हामीले नयाँ क्रान्तिकारी धारलाई समात्दै भइरहेको पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन परेको छ ।’, उनले भने ।