काठमाण्डु – ईलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख डीएसपी ठगबहादुर केसी सम्मिलित घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएका खिलेन्द्रसिंह जिसी ‘खेम’विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका–१० स्थायी ठेगाना भई बुटवल उपमहानगरपालिका–४ लक्ष्मीपुर बस्ने जिसीले डीएसपी केसी संलग्न भएको भ्रष्टाचार मुद्दामा बकपत्र गर्दा फरक बयान दिएको अख्तियारको आरोप छ । आयोगले जिसीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५८ को दफा ३ को उपदफा (२) बमोजिमको कसूरमा १८ लाख रुपैयाँ बिगो र कैद सजायको मागदाबी गरेको छ ।
सिंहले नै सुन छुटाइदिन माग गर्दै डीएसपी केसीलाई १८ लाख रुपैयाँ बुझाएका थिए । प्रहरी महानिरीक्षकको सचिवालय र केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले डीएसपी केसीलाई २०७९ पुस १० गते राति ३५ तोला सुन र १८ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।




प्रतिक्रिया