चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–२, मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब ११३ घरधुरीको बसोबास छ । उनीहरूले दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ ।

स्थानीय शान्ति मुसहरले भनिन्, “जाडोमा न लगाउने न्यानो कपडा छ न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नुपरेको छ ।” ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल । “घरमा ओड्ने ओछ्याउने छैन, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाउनुभएको छैन,” उनले भनिन्, “यो चिसोमा बिहान–बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ ।” झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्तिजस्तै यहाँ धेरै छन् ।

स्थानीय जितनी माझी उमेरले ६५ वर्ष पुगे । अहिले काम नभएपछि अन्न र लत्ताकपडा किन्ने पैसा नभएको उनले बताए । “पेटभरि खान नपाएको छैन, जाडोमा केटाकेटीले छिनछिनमै खान खोज्छन्, तर खान दिने अन्न छैन,” उनले भने, “मजदुरी गर्न काम पाइएको छैन, कति दिन भइसक्यो एक छाक खान्छौँ ।”

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने जानकारी दिए । उनले भने, “केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छौँ । ती समुदायको आर्थिकस्तर माथि उठाउन नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्नेछ ।”